लहानक्षेत्रमा सडक विस्तारले गति लिँदै


सिरहा । सिरहाको लहान बजार क्षेत्रमा सडक विस्तारको काम तीव्र पारिएको छ । कञ्चनपुर–कमला चार लेन सडकखण्ड विस्तारअन्तर्गत भइरहेको निर्माणलाई सहज बनाउन लहान नगरपालिकाले ‘हाइवे’ क्षेत्रमा यात्रु चढाउने र ओराल्ने निश्चित स्थान तोकेको हो । नगरपालिकाले पूर्वतर्फ हुलाक कार्यालय नजिक र पश्चिमतर्फ मुरारका पेट्रोल पम्पअगाडि मात्र बस, म्याजिकलगायत सवारीसाधनले यात्रु चढाउन/ओराल्न पाउने व्यवस्था गरेको जनाएको छ ।

यसका साथै, हाइवे क्षेत्रमा सञ्चालनमा रहेका पसलहरू सात दिनभित्र हटाउन सूचना जारी गरिएको छ । बजार क्षेत्रमा लामो समयदेखि ठप्प रहेको सडक विस्तारका लागि चिनियाँ कम्पनी ‘चाइना रेलवे नं २ इञ्जिनियरिङ ग्रुप’ ले बुधबारदेखि पुनः काम सुरु गरेको हो ।

विगतमा निर्माणमा भएको ढिलासुस्तीका कारण स्थानीय व्यवसायीले पटकपटक आन्दोलन गरेपछि कामलाई निरन्तरता दिन जिल्ला उद्योग वाणिज्य सङ्घले निर्माण कम्पनी र सरोकार भएका पक्षबीच पटकपटक छलफल गरी सहजीकरण गरेको थियो । सङ्घका अध्यक्ष प्रदीपकुमार गुप्ताले निर्माण पुनःसुरु हुनुलाई सकारात्मक रूपमा लिएको बताउँदै भने, “लामो समय निर्माण ठप्प हुँदा धुलो र धुवाँका कारण स्थानीय व्यवसायीको व्यापार, व्यवसाय धरासायी बन्दै गएको थियो । सरोकार भएका निकायसँगको निरन्तर छलफलपछि अहिले काम अगाडि बढेको छ । हाम्रो मुख्य चाहना भनेको अब निर्माण यथाशीघ्र सम्पन्न होस् भन्ने हो ।”

अहिले लहान बजारको मुख्य चोकमा ‘ओभरपास’ निर्माण भइरहेको छ । चिनियाँ कम्पनीले सन् २०२० अक्टोबर २९ देखि निर्माण सुरु गरेको थियो । सडक विस्तार आयोजनाअन्तर्गत कुल ८६ दशमलव ८२ किलोमिटर लामो सडक विस्तार गर्नुपर्ने आयोजना कार्यालयले जनाएको छ ।

सम्झौताअनुसार सन् २०२३ अक्टोबरभित्र काम सक्नु पर्ने लक्ष्य रहे पनि समयमा सम्पन्न नहुँदा तीन पटक म्याद थप गरिएको छ । हाल अन्तिम समयसीमा सन् २०२६ जुनसम्म पुर्‍याइएको छ । सडक आयोजना कार्यालयका अनुसार हालसम्म करिब ७० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।