नेकपाका शीर्ष नेताले भने- राष्ट्रपतिलाई महाअभियोग लगाउने हल्ला निराधार
काठमाडौं । पार्टीभित्र विवाद बढ्दै गएपछि सत्तारुढ नेकपाका शीर्ष नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसँग भेट गरी मन्त्रीहरुलाई आफु र राष्ट्रपति विरुद्ध षडयन्त्र भइरहेको भन्दै ब्रिफ्रिङ गरेपछि आइतबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका शीर्ष नेताहरु शीतलनिवास पुगेका हुन् । राष्ट्रपतिलाई भेट्न अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार लगायतका नेताहरु गएका थिए ।
प्रधानमन्त्री ओलीले राष्ट्रपति विरुद्ध अहाअभियोग लगाउने तयारी भएको र आफूलाई पनि हटाउने षडयन्त्र भएको मन्त्रीहरुलाई भनेपछि ओली इतरका नेताहरु राष्ट्रपतिलाई भेट्न पुगेका हुन् । नेताहरुले राष्ट्रपतिलाई पछिल्लो घटनाक्रमबारे स्पष्ट पारेका छन् । भेटमा नेताहरुले प्रधानमन्त्री ओलीका गलत कदम विरुद्ध साथ नदिन राष्ट्रपतिलाई आग्रह गर्दै महाअभियोग लगाउने हल्ला निराधार भएको बताएका छन् ।
राष्ट्रपतिलाई भेटेपछि प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका छन् । पार्टीलाई फुटको संघारबाट जोगाउन ओली र प्रचण्डबीच आज निर्णायक वार्ता हुने बताइएको छ । दुबै पक्षबाट दोस्रो तहका नेताहरु पनि वार्तामा सहभागी भएको बताइएको छ । सोमबार पार्टीको स्थायी समिति बैठक पनि बस्दै छ ।