कांग्रेस एकताबद्ध बनाउन चन्द्र भण्डारीको आग्रह : ‘व्यक्ति होइन, विचार ठूलो; गुट होइन, पार्टी ठूलो’


काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले पार्टीभित्रका विगतका मतभिन्नता र असमझदारी संवादमार्फत समाधान गर्दै एकताबद्ध हुन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

निर्वाचन आयोगबाट नेपाली कांग्रेसको विवरण अद्यावधिक भइसकेको उल्लेख गर्दै भण्डारीले पार्टीलाई अझ बलियो बनाउन सबैलाई सहभागी हुन आह्वान गरेका हुन् ।

उनले कांग्रेस कुनै एक व्यक्ति वा पुस्ताको मात्र नभई पाँच पुस्ताको त्याग, तपस्या, पसिना र योगदानबाट निर्माण भएको साझा घर भएको बताएका छन् ।

‘यसको निर्माणमा हामी सबैको सहभागिता, संघर्ष र लगानी जोडिएको छ । त्यसैले आफ्नै घरलाई अझ बलियो बनाउने साझा संकल्पसहित सबैलाई पार्टीमा सहभागी हुन आग्रह गर्दछु,’ उनले भनेका छन् ।

भण्डारीले विगतका मतभिन्नता र असमझदारीलाई संवादबाट समाधान गर्दै पार्टीलाई एकताबद्ध, सुदृढ र समयानुकूल बनाउने जिम्मेवारी सबैको भएको बताएका छन् ।

उनले पार्टीभित्र नेतृत्व चयनलाई लिएर हुने विमतिमाथि प्रश्न गर्दै जनताको चाहनामा जो कोही प्रधानमन्त्री बन्न सक्ने लोकतान्त्रिक व्यवस्थामा कार्यकर्ताको चाहनामा जो कोही पार्टी सभापति बन्न सक्ने बताएका छन् ।

‘हामीले बनाएको प्रजातान्त्रिक घरभित्र जनताको चाहनामा जो कोही प्रधानमन्त्री हुन सक्छ भने, कार्यकर्ताको चाहनामा पार्टी सभापति पनि जो कोही हुन सक्छ । विमति किन ?’ उनले प्रश्न गरेका छन् ।

इतिहासको विरासत जोगाउँदै वर्तमानको जिम्मेवारी पूरा गर्न र भावी पुस्ताका लागि सक्षम पार्टी निर्माण गर्नुपर्नेमा जोड दिएका भण्डारीले व्यक्ति र गुटभन्दा पार्टी, विचार, लोकतन्त्र र राष्ट्रहितलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘व्यक्ति होइन, विचार ठूलो; गुट होइन, पार्टी ठूलो; स्वार्थ होइन, लोकतन्त्र र राष्ट्रहित ठूलो !’