नेकपाभित्रको विवाद थप चुलिँदै, प्रचण्ड र राष्ट्रपतिबीच भेटवार्ता
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । नेकपा स्थायी कमिटी बैठक स्थगित भएपछि प्रचण्ड बालुवाटारबाट राष्ट्रपति कार्यालय शीतल निवास पुगेका हुन् ।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले संसदको दुवै सदनको अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेट गरेका थिए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट संसदको बजेट अधिवेशन अन्त्य भएलगत्तै नेकपा स्थायी कमिटी बैठक स्थगित भएको हो ।
स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी ओलीको चर्को आलोचना भएपछि नेकपाभित्र विवाद चर्किएको छ । असार १० गतेबाट सुरु भएको नेकपा स्थायी कमिटीमा सरकारका काम, प्रधानमन्त्रीले मदन मण्डारी फाउण्डेसनको कार्यक्रमाम दिएको अभिव्यक्ति र निर्वाचनमा आयोगमा नेकपा (एमाले) दर्ताका लागि परेको निवेदनका विषयमा चर्को बहस भइरहेको छ । ओलीले दल विभाजन सम्बन्धि अध्यादेश जारी गर्न संसद अधिवेशन अन्त्य गरिएको अनुमान गरिएको छ । त्यसै विषयमा कुरा गर्न प्रचण्ड राष्ट्रपतिलाई भेट्न गएका हुन् ।