नेकपाको सत्ता संकटः कसैलाई जहाज डुब्ने डर, कसैलाई बुधबारको भर
काठमाडौं । सत्तारुढ नेकपाको जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएपछि नेपाली राजनीतिमा ठूलो तरंग पैदा भएको छ । प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर राजीनामा मागिएपछि धेरैले नेकपा फुटको संघारमा पुगेको आंकलन गर्न थालेका छन् ।
मंगलबारको बैठकमा बोल्ने १७ जना सदस्यले प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदा त्यसको बचाउमा ओलीबाहेक अरु कोही पनि नबोलेको बताइन्छ । मंगलबारको बैठकपछि सरकारका मन्त्रीहरु पनि अब जहाज डुब्ने अवस्थामा पुगेको टिप्पणी गर्न थालेका छन् ।
कृषिमन्त्री घनश्याम भुसालले सामाजिक संजालमा लेखका छन्, ‘हाम्रो जहाज महाभुमरीमा हेलिने अनिष्ट सम्भावना नजिकिन थाल्यो ! अर्थात्, हामी हरेकले फेरि एक पटक विवेक र धैर्यको परीक्षा दिनुपर्ने भयो ! नहड्बडाएर, एकताबद्ध भएर यसको सामना गरिने छ ।’
मन्त्री भुसाललाई जहाज डुब्ने डर लागिरहँदा यता पर्यटनमन्त्री योगेश भट्टराई चाहिं आज बुधबार भएकाले राम्रो निर्णय हुने अपेक्षा गर्छन् । उनले लेखेका छन्, ‘सबै दिन राम्रै हुन्छन्, राम्रै मानिन्छन् । बुधवारलाई अली बढी राम्रो मान्ने नेपाली चलन् छ् । आज बुधवार, आशा छ परिस्थिती सहि दिशामा मोडिने छ । आशाबाद !’
मंगलबारको बैठकमा अर्का अध्यक्ष प्रचण्ड, उपाध्यक्ष बामदेव गौतम, बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाललगायतले प्रधानमन्त्रीको राजीनामा मागेका थिए । निर्वाचन आयोगमा प्रधानमन्त्री ओलीको निर्देशनमा नेकपा एमाले दर्ता गर्न लागिएको भन्दै उपाध्यक्ष गौतमले बताएका थिए ।
आफ्नो राजीनामा माग भएपछि प्रधानमन्त्रीले आज आफू निकटमा मन्त्रीलाई समेत बालुवाटारमा बोलाएर परामर्श गर्दैछन् । के अब नेकपाको जहाज डुब्ला कि गन्तव्य पुग्ला त्यो भने केही दिनमा देखिएला ।