नेविसंघको नेतृत्वप्रति देउवाको प्रश्नः अहिले कहाँ छ नेविसंघ ?
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेविसंघ नेतृत्वप्रति आक्रोश व्यक्त गरेका छन् । पार्टीका पूर्वसभापति स्व. गिरिजाप्रसाद कोइरालाको ९६औं जन्म जयन्तीको अवसरमा काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेविसंघले संगठन विस्तारमा काम नगरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
उनले गाउँगाउँमा, स्कुल–स्कुलमा संगठन विस्तार नगरी काठमाडौंमा भाषण गरेर बस्ने प्रवृतिले नेविसंघ कमजोर बनेको भन्दै उनले नेतृत्वप्रति आक्रोश व्यक्त गरे । अहिले कतै पनि नेविसंघ नरहेको र कुनै पनि स्कुलमा जित्ने हैसियत नेविसंघसँग नभएको देउवाले बताएका छन् पहिला गाउँ र स्कुलमा गएर संगठन विस्तार गरेर मात्र आफूसँग कुरा गर्न आउन उनले विद्यार्थी नेताहरुलाई निर्देशन दिएका छन् ।
आफ्नो पालामा देशैभरि नेविसंघ रहेको उल्लेख गर्दै सभापति देउवाले अहिले कहाँ छ नेविसंघ भन्दै प्रश्न गरेका छन् । नेविसंघले संगठन विस्तारमा ध्यान नदिएकै कारणले कम्युनिष्टहरुले चुनाव जितेको दाबी देउवाले गरेका छन् । देउवाले अहिले नेविसंघभित्र देखिएको विवाद केही पनि नभएको र दुई पक्षबीच कुरा गरी समस्याको समाधान निकालिने पनि बताए ।
विद्यार्थीहरु आपसमा मिल्न नसक्नु नै मुख्य समस्या भएको उनको भनाई थियो । आफू अहिलेसम्म चारपल्ट प्रधानमन्त्री भएको तर अहिलेको कोही पनि विद्यार्थी नेताहरु भविष्यमा प्रधानमन्त्री बन्ने लायकको नभएको भन्दै लाज मान्नुपर्ने अवस्था आएको देउवाले बताए ।