नेपालको शान्ति सुरक्षाको नमुना उदाहरण


श्यामप्रसाद मैनाली

दाङमा प्रमुख जिल्ला अधिकारी थिएँ । मलाई माओवादीको ठूलै थ्रेट भएको महसुस गृह मन्त्रालयले गरेको रहेछ। दिउँसभरि म स्वतन्त्र रुपले विभिन्न कार्यक्रमहरूमा उपस्थिति दिइरहन्थें । ६ बजे नेपाली सेनाको भ्यान आइपुग्थ्यो । मेरो सुरक्षाको लागि भनेर ब्यारेकमा मैले सुत्नु पर्दथ्यो । बिहानै फेरि आफ्नै निवासमा आउँथे । माओवादीबाटै त्यति ठूलो थ्रेट मलाई थियो भने उनीहरूको राजधानी भनेर पहिचान बनाएको जिल्ला दाङमा नै किन खटाएको होला ?

थ्रेट भए राति मात्र हुने हो र दिउँसो पनि त मलाई कुनै पनि समयमा जे पनि हुन सक्थ्यो । अनि यदि थ्रेट हो भने दिउँसो पनि त मलाई हतियार सहितका सेनाले सुरक्षा दिनुपर्ने होइन र ? सेना रहेको ब्यारेक सुरक्षाको दृष्टिकोणले अत्यन्त कमजोर थियो। उक्त स्थानमा बस्दा प्रजिअ सुरक्षित रहने, त्यही ब्यारेक माओवादीले उडाइदिए हतियार लुटेर लगे ।

म आफ्नै आवासमा बस्छु भन्दा गृह मन्त्रालय यस विषयमा स्वीकृति नदिने, ब्यारेकमै बस्नु भन्ने, ब्यारेक माओवादीले हान्दैछन् भन्ने सूचना मलाई मिल्दथ्यो । तर त्यो सूचनालाई केन्द्रीय सुरक्षा निकायका पदाधिकारीहरूले विश्वास गर्दैनथे । कहीँ नभएको संज्ञा कायर प्रमुख जिल्ला अधिकारी मैले त्यही जिल्लामा पाएँ । किनकी आफ्नो निवासमा बस्न नसकेर ब्यारेकमा शरण लिएर बस्ने प्रमुख जिल्ला अधिकारीले जिल्लावासीहरूको सुरक्षा कसरी गर्ने होला? यो त्यहाँका बुद्धिजीवीहरूको ठाडो प्रश्न मलाई हुने गथ्र्यो ।
दाङ जिल्लामा पाँच छ महिना बस्दा सुरक्षा व्यवस्थापन गर्न पटक्कै नजान्ने प्रमुख जिल्ला अधिकारीको रूपमा आफूलाई पहिचान बनाउन सफल भएछु। गृहमन्त्रालयका ठूला अधिकृतहरु त स्वनाम धन्य सुरक्षा विज्ञ हुने नै भए । यस प्रकारको सुरक्षा व्यवस्था गराउने त्यसबखतका गृह मन्त्रालयको नेतृत्वमा रहनेहरूको बारेमा नाम नबताउँ । एकले यो धर्ती छोडिसके, अर्का हुन् नाउ बताउँदा बाँच्न कठिन पर्ने विशिष्ट पदाधिकारी ।

साथीहरुले पहिचान गर्नुभयो होला । गृहमा काम गर्नेहरुले त सहजै पहिचान गर्नुहुन्छ। अरुका लागि केही समय चिन्तन गर्दा पत्ता लाग्न कुनै कठिन हुँदैन । यस्तो प्रकारको कुशल सुरक्षा व्यवस्थापनका बारेमा साथीहरूको विचार पाउँ ।