हर्मुजमा इरानले प्रक्षेपण गरेका ड्रोन अमेरिकाले खसालेपछि…


रोयटर्स । अमेरिकाले हर्मुज जलडमरूमध्यतर्फ इरानले प्रक्षेपण गरेका ड्रोन खसालेपछि शनिबार इरानका तटीय रडार तथा निगरानी केन्द्रहरूमा सैन्य आक्रमण गरेको जनाएको छ । पछिल्लो घटनाले दुई देशबीच जारी द्वन्द्व थप चर्किएको छ ।

अमेरिकी सेनाका अनुसार इरानले प्रक्षेपण गरेका चार ड्रोन क्षेत्रीय समुद्री यातायातलाई लक्षित गरिएको आशंका गरिएको छ । अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले हर्मुज जलडमरूमध्यस्थित गोरुक र केस्म टापुमा रहेका इरानी निगरानी केन्द्रहरूमा हमला गरिएको जनाएको छ ।

इरानको रिभोलुसनरी गार्ड कोप्र्सले अमेरिकी आक्रमणको प्रतिशोधस्वरूप क्षेत्रीय अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार गरिएको दाबी गरेको छ । साथै अनुमति बिना जलडमरूमध्य पार गर्न खोजेका चार तेल ट्यांकरमाथि पनि आक्रमण गरिएको जनाएको छ ।

कुवेतको सरकारी सञ्चारमाध्यमका अनुसार त्यहाँको वायु प्रतिरक्षा प्रणालीले अज्ञात स्रोतबाट प्रहार गरिएका मिसाइल र ड्रोन अवरोध गरेको छ । बहराइनमा साइरन बजाइएपछि सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो ।

इरानले कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डामा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दाबी गरे पनि अमेरिकी सेनाले छवटा मिसाइल खसालिएको जनाएको छ ।

तीन महिनादेखि जारी युद्ध रोक्न अमेरिका र इरानबीच अप्रत्यक्ष वार्ता जारी रहे पनि सहमति हुन सकेको छैन । इरानले तेल आम्दानीमा पहुँच, कच्चा तेल निर्यातमाथिका प्रतिबन्ध हटाउनुपर्ने तथा हर्मुज जलडमरूमध्यमा प्रभाव कायम राख्नुपर्ने माग राखेको छ ।

यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि इन्धन मूल्यवृद्धिका कारण युद्ध अन्त्य गर्न घरेलु राजनीतिक दबाब बढ्दै गएको छ । उनले इरानका अधिकांश ड्रोन र मिसाइल उत्पादन केन्द्र नष्ट गरिए पनि अझै केही क्षेप्यास्त्र बाँकी रहेको बताएका छन् ।

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीका सल्लाहकार मोहसेन रेजाईले अमेरिकाले इरानी सम्पत्ति फुकुवा गरेमा मात्र शान्ति सम्झौता सम्भव हुने बताएका छन् । उनले अमेरिका पुनः आक्रमणमा उत्रिए “गम्भीर परिणाम” भोग्नुपर्ने चेतावनी पनि दिएका छन् ।

द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ भने आपूर्ति शृंखला प्रभावित बनेको छ । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले इन्धन तथा ढुवानी लागत बढेकाले लाखौं मानिस भोकमरीको जोखिममा परेको जनाएको छ ।