उखुको मूल्य तत्काल निर्धारण गर्न सरकारसँग कांग्रेसको माग


काठमाडौं । नेपाली कांग्रेसले उखुको मूल्य तत्काल निर्धारण गर्न र उखु किसानले पाउन बाँकी रकम अविलम्ब भुक्तानी गर्न सरकारसँग माग गरेको छ ।

सभापति गगनकुमार थापाको अध्यक्षतामा मंगलबार पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा बसेको केन्द्रीय कार्यसमिति बैठकले उखुको मूल्य निर्धारणमा सरकारले देखाएको उदासीनताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

उखु बजारमा पठाउने समय नजिकिँदै गर्दा किसानमा देखिएको चिन्तालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय बैठकले गरेको कांग्रेसले जनाएको छ ।

कांग्रेसले उखुको मूल्य निर्धारण गर्दा उत्पादन लागत र चिनीको बजार मूल्यलाई आधार बनाउनुपर्ने धारणा राखेको छ । साथै, उखु किसानहरूले पाउन बाँकी रहेको भुक्तानी अविलम्ब उपलब्ध गराउन पनि माग गरेको छ ।

बैठकमा ४९ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन् । धारणा राख्ने क्रम जारी रहेकाले केन्द्रीय कार्यसमितिको अर्को बैठक बिहीबार मंसिर १० गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने तय भएको छ ।

बैठकमा रामकृष्ण यादव, राजीव कोइराला, गोविन्दराज पोखरेल, सिताकुमारी राना, भरतकुमार शाह, नरेन्द्रकुमार केरुङ, जितनारायण श्रेष्ठ, प्रकाश पन्थ, मुना भुसाललगायत ४९ जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका थिए ।