काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रका कमजोरीको समीक्षा गर्दै सबैलाई मूल बाटोमा एकजुट हुन आग्रह गरेका छन् ।
प्रतिक्रिया दिएर मात्रै समस्याको समाधान नहुने भन्दै शर्माले विधि, विधान, पद्धति, प्रवृत्ति, प्रक्रिया, परिस्थिति, मनस्थिति र समयलाई मुख्य प्रश्नका रूपमा उठाएका छन् । उनले सामाजिक सञ्जालमार्फत अब प्रतिक्रियामै अल्झिनुभन्दा सबै एकजुट भएर अघि बढ्नुपर्ने बताएका हुन् ।
‘प्रतिक्रियापछि प्रतिक्रिया र फेरि पनि प्रतिक्रिया मात्रैले कहीं पुगिन्न। मूल प्रश्न विधि, विधान, पद्धति, प्रवृत्ति, प्रक्रिया, परिस्थिति, मनस्थिति र समयको हो,’ शर्माले लेखेका छन् ।
पार्टीभित्र भएका कमजोरीको गम्भीर समीक्षा बाहिरभन्दा आन्तरिक रूपमा गर्नुपर्नेमा जोड दिँदै उनले मन माझ्ने र आपसी सम्बन्ध जोड्ने काम पार्टीभित्रै गर्नुपर्ने बताएका छन् । ‘हामी जसको जे कमजोरी भयो, त्यसको गम्भीर समीक्षा घरभित्रै गरौं। मन माझौं– घरभित्रै। मन जोडौं– घरभित्रै,’ उनले लेखेका छन् ।
कांग्रेसको आन्तरिक विषयभन्दा देशको प्रश्न ठूलो रहेको उल्लेख गर्दै शर्माले सबैलाई एकजुट भएर अघि बढ्न आग्रह गरेका छन् । ‘आखिर हामी सबै जान्दछौं– प्रश्न यहाँ कांग्रेसको होइन, प्रश्न देशको छ। जय नेपाल !’ उनले लेखेका छन् ।

प्रतिक्रिया