काठमाडौँ । सर्वोच्च अदालतले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्धको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।
बुधबार न्यायाधीश रत्नबहादुर बागचन्दको एकल इजलासले आनी छोइङलाई नियुक्त गर्नुको कारणसहित अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफलका लागि विपक्षी सरकार, लुम्बिनी विकास कोषलगायतलाई झिकाउने आदेश दिएको हो ।
आनीको नागरिकतासम्बन्धी विवाद र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा गरिएको नियुक्तिको वैधानिकतामाथि प्रश्न उठाउँदै राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंहसहितले रिट दायर गरेका थिए ।
रिट निवेदनमा सार्वजनिक पदाधिकारीको नियुक्ति र योग्यतासम्बन्धी मापदण्ड, २०७१ अनुसार आनी छोइङ डोल्माको योग्यता नपुगेको दाबी गरिएको छ । गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले आनीलाई कोषको उपाध्यक्षमा मनोनीत गरेको थियो ।

प्रतिक्रिया