संघीय संसदको लोगो परिवर्तन हुने
काठमाडौं । संघीय संसदको प्रतिकका रुपमा रहेको लोगो परिवर्तन गरिने भएको छ । राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले लोगो परिवर्तन गर्ने निर्णय गरेको हो । सरकारले नेपालको अद्यावधिक नक्सा जारी गरेपछि संसदको लोगोमा प्रयोग भएको नक्सा परिवर्तन गर्नुपर्ने भएकाले समितिले यस्तो निर्णय गरेको हो ।
संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले सरकारले नेपालको परिवर्तित नक्सा राजपत्रमा प्रकाशन गरेपछि लोगोमा प्रयोग भएको नक्सा सोही अनुसार परिवर्तन गर्ने निर्णय गरिएको जानकारी दिए । संघीय संसदका दुबै सदनमा सांसदहरुले प्रयोग गर्दै आएको लोगोमा एकरुपता ल्याउनका लागि प्रतिनिधिसभालाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।
राष्ट्रियसभा नियमावली २०७५ को नियम २२१ अनुसार सांसदहरुको पोशाक र संघीय संसदको प्रतिक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा अध्यक्षले तोके बमोजिम हुने व्यवस्था छ ।