गुल्मीमा स्कारपियो दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो


गुल्मी । गुल्मीमा स्कारपियो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ भने तीन जना घाइते भएका छन् । स्याङ्जाको चिरकोटबाट राक्सेतर्फ आउँदै गरेको बी एए ०२२० नम्बरको स्कारपियो गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडकखण्डमा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार स्कारपियो सडकबाट करिब २५० मिटर तल खसेको थियो ।

दुर्घटनामा पाँच जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । मृत्यु हुनेमा सवारी चालक स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय दिलीपकुमार बगाले, वालिङ–१० का ६० वर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका लोकनाथ पाण्डे, सोही ठाउँकी सीता पाण्डे र कुलानन्द पाण्डे रहेका छन् । त्यस्तै, वालिङ नगरपालिका–२ की निता बगालेको कालीगण्डकी सामुदायिक अस्पताल मिर्मी, स्याङ्जामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका छविलाल पाण्डेको कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। यस्तै, स्याङ्जाको वालिङ नगरपालिका निवासी अन्दाजी ५० देखि ५५ वर्षीया गोमता पाण्डेलाई थप उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको छ।