नारायणकाजीको प्रश्नः पार्टीमा रडाको मच्चाउने योजनामा फेरि को लाग्दैछ ?
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकका निर्णयविरुद्ध भ्रमात्मक प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।
मंगलबार ट्वीट गर्दै प्रवक्त श्रेष्ठले भनेका छन्, ‘हाम्रो पार्टीमा पार्टी एकताको रक्षा गर्दै कमजोरीहरुलाई सच्याएर नयाँ शिराबाट काम गर्ने सहमति भएपछि हिजो देखि फेरि झुटा भ्रमात्मक समाचारहरु प्रचारित हुन थालेका छन् । पार्टीमा रडाको मच्चाउने योजनामा फेरि को लाग्दैछ ? सचेत होऔं । २० गतेको सचिवालय वैठकको निश्कर्ष लागू गरौं । अन्यथा नगरौं ।’
त्यसअघि सोमबार राति पनि ट्वीट गर्दै श्रेष्ठले शनिबारको सचिवालय बैठकको बिचलनले पार्टीमा पुनः संकट ल्याउने चेतावनी दिएका थिए । उनले समाजवाद उन्मुख समृद्धिको काम र त्यसको लागि आत्मालोचनासहित नयाँ शिराबाट काम गर्ने सचिवालय बैठकको निष्कर्ष भएकाले त्यसमा बिचलन आए पार्टीमा पुनः संकट निम्तने चेतावनी दिएका हुन् । उनले लेखेका छन्,‘ अस्तिको सचिवालयको निश्कर्षबाट बिचलनले पार्टीमा पुनःसङ्कट ल्याउनेछ । अतः अन्यथा हुनै सक्दैन,गर्नै मिल्दैन । पार्टी एकताको रक्षा, बिधि पद्दतिको पालना, पार्टीद्वारा सरकार सञ्चालन, सरकारबाट समाजवादउन्मुख समृद्धिको काम र त्यसको लागि आत्मालोचनासहित नयाँ शिराबाट काम गर्ने संकल्प यो हो निष्कर्ष ।’