रोयटर्स । अमेरिका र क्यानडाले क्यानडाबाट आयात हुने स्टिल तथा अटोमोबाइलमा लगाइएको अमेरिकी भन्सार शुल्क घटाउने विषयमा सम्झौताको प्रयास गरिरहेका छन्। व्यापार वार्ता भदौमा भङ्ग भएपछि बिग्रिएको द्विपक्षीय सम्बन्ध सुधार्ने प्रयासस्वरूप दुवै देशका अधिकारीहरूबीच छलफल भइरहेको वार्ताबारे जानकार अमेरिकी र क्यानडेली स्रोतले बताएका छन्।
छलफल अमेरिकी व्यापार कानुनको दफा २३२ अन्तर्गत लगाइएका शुल्कमा केन्द्रित छ। यसअन्तर्गत क्यानडेली स्टिलमा ५० प्रतिशतसम्म र अटोमोबाइलमा २५ प्रतिशत भन्सार शुल्क लगाइएको छ। वार्ताकारहरूले ती शुल्कमा राहत दिने सम्भावनाबारे छलफल गरिरहेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति समर्थन जनाउने अमेरिकी नागरिकको अनुपात ३२ प्रतिशतमा सीमित छ। आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनमा उनको रिपब्लिकन पार्टीले संसद्मा आफ्नो बहुमत गुमाउने जोखिम पनि छ। क्यानडाबाट आयात हुने वस्तुमा लगाइएको शुल्क ट्रम्पका लागि राजनीतिक रूपमा चुनौती बनेको छ। सीमावर्ती राज्यका रिपब्लिकन उम्मेदवारहरूले समेत क्यानडासँगको व्यापार युद्ध अन्त्य गर्नुपर्ने माग गरेका छन्।
वार्ताबारे जानकारी पाएका एक क्यानडेली स्रोतले नोभेम्बर ३ को निर्वाचनअघि स्टिल र अटोमोबाइलसम्बन्धी शुल्कमा सम्झौता हुन सक्ने सम्भावना रहेको बताए। तर, अमेरिकी स्रोतहरूका अनुसार ट्रम्प प्रशासनले क्यानडाबाट थप सहुलियत खोजिरहेको छ। निजी रूपमा भइरहेको छलफलका विषयमा बोलेका स्रोतहरूले आफ्नो नाम सार्वजनिक गर्न चाहेनन्।
अमेरिकी व्यापार कानुनको दफा २३२ अन्तर्गतका शुल्क वाणिज्य मन्त्रालयले व्यवस्थापन गर्ने भएकाले वार्तामा अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयभन्दा वाणिज्य मन्त्री हावर्ड लटनिकको भूमिका प्रमुख रहेको दुवै देशका स्रोतले बताएका छन्। लटनिक र क्यानडा–अमेरिका व्यापारसम्बन्धी मामिला हेर्ने क्यानडेली मन्त्री डोमिनिक लेब्लाङबीच पछिल्लो समय नियमित सम्पर्क भइरहेको एक स्रोतले जानकारी दिए।

प्रतिक्रिया