चीनमा पुटिन र सीसँग भेट्न ट्रम्प तयार


वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना चीनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्न तयार रहेको बताएका छन् । उनले सम्भावित बैठकमा आणविक निशस्त्रीकरणसँगै युक्रेन युद्धबारे पनि छलफल हुन सक्ने संकेत गरेका छन् । 

ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको आलोचना गर्दै युक्रेनका तर्फबाट अरू कसैले वार्ता गर्नुपर्ने समय आएको टिप्पणी गरेका छन् । यसले वासिङ्टन र किएभबीचको मतभेद थप उजागर गरेको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले चीनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा त्रिपक्षीय बैठकको सम्भावनाबारे चर्चा भए पनि कुनै ठोस सहमति नभएको बताएका छन् । नोभेम्बर १८ र १९ मा सेन्जेनमा हुने सम्मेलनमा तीनै देश सहभागी हुँदैछन् । चिनियाँ विदेश मन्त्रालयले भने सम्भावित भेटबारे जानकारी नभएको जनाएको छ ।

युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिहाले किएभको सहभागिताबिना हुने बैठकले पुटिनलाई युद्ध जारी राख्न प्रोत्साहित गर्ने चेतावनी दिएका छन् । पेस्कोभले पनि अन्तिम शान्ति सम्झौताका लागि युक्रेनी प्रतिनिधिको सहभागिता आवश्यक रहेको बताएका छन् । 

यसैबीच, रुसले युक्रेनमाथि आक्रमण तीव्र बनाएको छ । सोमबार खार्किभ क्षेत्रमा रुसी ड्रोन प्रहार हुँदा बालबालिकासहित छ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । युक्रेनले अमेरिकामाथि महत्त्वपूर्ण गुप्तचर सूचना उपलब्ध नगराएको आरोपसमेत लगाएको छ ।