सशस्त्र समूहको आक्रमणमा मालीमा ५० जनाको मृत्यु


बामाको । मालीको उत्तरपूर्वी मेनाका क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणमा ५० जनासम्म सर्वसाधारण मारिएका छन्। आइतबार भएका आक्रमणमा मुख्यतः दौसहाक समुदायका बासिन्दालाई लक्षित गरिएको सुरक्षा अधिकारी र स्थानीय स्रोतहरूले बताएका छन्।

मोटरसाइकलमा आएका आक्रमणकारीले टिनाबो गाउँ र तगादायत क्षेत्रका शिविरमा गोली चलाउनुका साथै घरहरूमा आगजनी गरेका थिए। दौसहाक समुदायको कार्यकारी ब्युरोले घटनामा इस्लामिक स्टेट समूह संलग्न रहेको आरोप लगाएको छ। ब्युरोका अनुसार तगादायतमा मात्रै ४८ जना सर्वसाधारण मारिएका छन्।

एक सुरक्षा स्रोतका अनुसार हालै गरिएको सैन्य कारबाही र अजवादको उद्धारका लागि सशस्त्र आन्दोलन (एमएसए) ले गरेको आक्रमणको बदलास्वरूप हिंसा भएको हो। दौसहाक समुदायबाटै उदाएको एमएसए मालीको सत्तारूढ सरकारसँग सम्बन्धित छ।

एक स्थानीय अधिकारीले महिला र वृद्धवृद्धासहित ५० भन्दा बढीको मृत्यु भएको बताएका छन्। आक्रमणबाट विस्थापित भएका मानिसहरू मेनाका पुगेका छन्। दौसहाक समुदायको कार्यकारी ब्युरोले घटनालाई नरसंहार भन्दै निन्दा गरेको छ र विस्थापितहरूलाई तत्काल मानवीय सहायता उपलब्ध गराउन अपिल गरेको छ।

यसैबीच, मालीको सेनाले शनिबार मेनाकाबाट करिब ६५ किलोमिटर दक्षिणपश्चिममा सैन्य कारबाही गरेको जनाएको छ। सेनाका अनुसार उक्त कारबाहीमा आतङ्कवादी तथा सैन्य उपकरण रहेको प्रमुख आधारमा आक्रमण गरिएको थियो।

माली सन् २०१२ देखि जिहादी लडाकु, तुआरेग पृथकतावादी र आपराधिक समूहको हिंसाबाट प्रभावित छ। सन् २०२० र २०२१ का सैनिक विद्रोहपछि सत्तामा आएको सैनिक सरकारले रुसको सहयोग लिएको छ। वागनर समूहका अर्धसैनिक बल सन् २०२५ मा अफ्रिका कोरमा रूपान्तरण भएको थियो।