इस्लामावाद । पाकिस्तानको सूचना प्रविधि (आइटी) तथा प्राविधिक क्षेत्रको निर्यात सन् २०२६ को सेप्टेम्बरमा गत वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढेर ४३ करोड ५० लाख अमेरिकी डलर पुगेको छ । यो हालसम्मकै दोस्रो उच्च मासिक निर्यात हो ।
अर्थमन्त्रीका सल्लाहकार खुर्रम शहजादले शुक्रबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत सार्वजनिक गरेको विवरणअनुसार, सेप्टेम्बरको निर्यात सन् २०२५ को डिसेम्बरमा कायम भएको ४३ करोड ७० लाख डलरको कीर्तिमानी स्तरभन्दा २० लाख डलरले मात्र कम हो । अगस्टको तुलनामा पनि सेप्टेम्बरमा आइटी निर्यात १० प्रतिशतले बढेको छ ।
शहजादका अनुसार, आर्थिक वर्ष २०२६–२७ को पहिलो त्रैमासिक अर्थात् जुलाईदेखि सेप्टेम्बरसम्म आइटी निर्यात एक अर्ब २५ करोड डलर पुगेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १८ प्रतिशत बढी हो ।
यसैबिच, सेप्टेम्बरमा आइटीसम्बन्धी स्वतन्त्र सेवा (फ्रिलान्स) बाट हुने आम्दानी पनि बढेर कीर्तिमानी १९ करोड ७० लाख डलर पुगेको छ । यो गत वर्षको सोही महिनाको तुलनामा ४९ प्रतिशत र अगस्टको तुलनामा ११ प्रतिशत बढी हो ।
आर्थिक वर्ष २०२६/२७ को पहिलो त्रैमासिकमा फ्रिलान्स आम्दानी करिब ५५ करोड डलर पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४६ प्रतिशत बढी हो । आर्थिक वर्ष २०२५र२६ मा यस्तो आम्दानी कुल एक अर्ब ७६ करोड डलर रहेको थियो ।
शहजादका अनुसार, आइटी निर्यातमा भएको वृद्धिको प्रमुख कारण आर्थिक वर्ष २०२६–२७ को बजेटमार्फत निर्यातकर्तालाई, विशेष गरी आइटी क्षेत्रका व्यवसायीलाई लक्षित गरी ल्याइएका प्रोत्साहनका कार्यक्रम र देशको डिजिटल अर्थतन्त्रको विस्तार हो ।
उनले यी नीतिगत उपायले निर्यात वृद्धि गर्न, थप ऋण नलिई विदेशी मुद्रा आर्जन गर्न, उच्च मूल्यका रोजगारी सिर्जना गर्न तथा विश्वबजारसँग पाकिस्तानको आर्थिक आबद्धता बलियो बनाउन सहयोग गरिरहेको बताएका छन् ।

प्रतिक्रिया