कालीगण्डकी बाढी : अस्थायी टावर बनाएर विद्युत् प्रसारण सुरु


म्याग्दी । कालीगण्डकी नदीमा आएको बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२० केभी क्षमताको कालीगण्डकी कोरिडोरअन्तर्गत दाना–खुर्कोट प्रसारणलाइन मर्मत गरी विद्युत् आपूर्ति सुचारु गरिएको छ ।

विपद्का बेला विद्युत् आपूर्ति सहज बनाउन क्यानडेली प्रविधिको प्रयोग गरी अस्थायी टावर निर्माण गरिएको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवा र वडा नं. ६ धिरच्याङमा प्रसारणलाइनका तीनवटा टावरमा क्षति पुगेपछि म्याग्दी र मुस्ताङका सातवटा जलविद्युत् आयोजनाबाट उत्पादित १७६ मेगावाट विद्युत् गत असोज ११ गतेदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन सकेको थिएन ।

नेपाल विद्युत् प्राधिकरणको गण्डकी प्रदेश ग्रिड शाखा पोखराका प्रमुख रोशन खड्काका अनुसार बाढीले ढलाएका तीनवटा टावरको विकल्पमा एउटा अस्थायी टावर निर्माण गरी तार तान्ने काम सम्पन्न भएपछि शनिबार राति साढे १० बजे प्रसारणलाइन चार्ज गरिएको हो ।

“नेपाल विद्युत् प्राधिकरण र कालीगण्डकी बेसिनमा रहेका जलविद्युत् आयोजनाका प्राविधिक जनशक्ति परिचालन गरेर बाढीले क्षति पुर्‍याएको २० दिनमै मर्मत गरी विद्युत्लाई राष्ट्रिय प्रणालीमा जोड्न सफल भएका छौँ”, उनले भने, “यस क्षेत्रका सबै आयोजनाले उत्पादन गरेको विद्युत् खपत हुने वातावरण बनेको छ ।”

प्राधिकरणका सहायक निर्देशक सञ्जय लोहनीले क्षतिग्रस्त तीनवटा टावरको विकल्पमा क्यानडेली प्रविधिको एउटा अस्थायी टावर निर्माण गरेर विद्युत् आपूर्ति सुचारु गरिएको बताए । बेनी–जोमसोम सडकको भिरकाटे खण्डपारि रहेको अन्नपूर्ण गाउँपालिका–१ दोवाको औलामा अस्थायी टावर निर्माण गरिएको हो ।

अस्थायी टावर निर्माण तथा प्रसारणलाइन मर्मतका लागि कालीगण्डकी बेसिनमा रहेका जलविद्युत् आयोजनाका प्राविधिक र प्राधिकरणका कर्मचारी परिचालन भएका थिए । आयोजनाहरू र प्राधिकरणको महाशाखाबाट २० जनाभन्दा बढी इन्जिनियर, त्यति नै सङ्ख्यामा प्राविधिक तथा ५० जनाभन्दा बढी मजदुर पछिल्लो १५ दिनदेखि काममा खटिएका थिए ।

नेपाल विद्युत् प्राधिकरणले अस्थायी टावर निर्माण गरेर विद्युत् आपूर्ति सुचारु गरे पनि क्षतिग्रस्त स्थायी टावरको पुनर्निर्माण प्रक्रिया सँगसँगै अघि बढाउने जनाएको छ । अस्थायी संरचनाबाट प्रसारणलाइन सञ्चालनमा ल्याएपछि प्रभावित जलविद्युत् आयोजनाको उत्पादन पुनः राष्ट्रिय प्रणालीमा जोड्ने बाटो खुलेको छ ।

प्रसारणलाइनका टावरमा क्षति पुगेपछि दाना–खुर्कोट प्रसारणलाइनमार्फत राष्ट्रिय प्रणालीमा विद्युत् आपूर्ति गर्दै आएका म्याग्दी र मुस्ताङका विभिन्न जलविद्युत् आयोजना बन्द भएका थिए । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेका पाँच मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाट क्षमताको मिस्त्रीखोला, ३८ मेगावाट क्षमताको नीलगिरि–१, ७१ मेगावाट क्षमताको नीलगिरि–२ र छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना तथा मुस्ताङको टुकुचेमा रहेको १४ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादन प्रभावित भएको थियो ।

प्रसारणलाइन मर्मतपछि यी आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सकिने भएको छ । बाढीका कारण अवरुद्ध भएको विद्युत् प्रसारण पुनः सञ्चालनमा आएपछि जलविद्युत् आयोजनाको उत्पादन खेर जाने समस्या हट्ने र राष्ट्रिय प्रणालीमा विद्युत् आपूर्ति सहज हुने अपेक्षा गरिएको छ ।