नेतान्याहूले अमेरिकालाई युद्धमा फसाएको इरानी विदेशमन्त्रीको दावी


तेहरान । इरानका परराष्ट्रमन्त्री अब्बास अराघचीले इजरायली प्रधानमन्त्रीले वासिङ्टनलाई इस्लामिक गणतन्त्र इरानसँग युद्धमा फसाएको आरोप लगाउँदै बेन्जामिन नेतान्याहूलाई ‘विषालु सर्प’ को संज्ञा दिएका छन् ।

इरानी विदेशमन्त्री अराघचीले भने, “नेतान्याहूले हिब्रु भाषामा खुलेर गर्व गर्नुहुन्छ, उहाँले इजरायलको तर्फबाट इरानसँग युद्ध गर्न अमेरिकी प्रशासनलाई फसाउनुभएको छ ।”

फेब्रुअरी २८ मा अमेरिका–इजरायली हमलाबाट इरानका सर्वोच्च नेता अली खामेनी र वरिष्ठ सैन्य अधिकारीहरूको मृत्यु भएपछि इरान र अमेरिकाबीच युद्ध सुरु भएको थियो ।

इरानले खाडी क्षेत्रभरि आक्रमण गरेर अमेरिका–इजरायली हमलाको जवाफ दियो र द्वन्द्व फैलिँदै गयो । अप्रिलको युद्धविरामले सबैभन्दा तीव्र लडाइँ अन्त्य ग¥यो, तर हर्मुज जलमार्ग नजिक मुख्य रूपमा हुने छिटपुट आक्रमणले अन्तिम शान्ति सम्झौताको सम्भावना कमजोर बनाएको छ । अमेरिका हालै इरानको ‘आर्थिक सङ्कट’ निम्त्याएर दवाव दिने अभियानतर्फ लागेको छ ।

अमेरिकाले आइतबार राति इरानी टापु लारकमा आक्रमण गरेको थियो । यो एक महिनामा पहिलो ठूलो आक्रमण हो । जवाफमा इरानले जोर्डन र यूएईका अमेरिकी सैन्य आधारहरूमा आक्रमण गरेको दाबी गरेको छ । “इरानका नेताहरूलाई ‘जङ्गली’ जन्तुको संज्ञा दिँदै गत साता नेतान्याहूले भनेका थिए, “इरान–अमेरिका सम्झौताको कुनै सम्भावना छैन ।”

नेतान्याहू लामो समयदेखि इरानसँग कूटनीति गर्नु गलत हुने धारणा राख्छन् । उनले तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको सन् २०१५ को आणविक सम्झौताको खुलेर विरोध गरेका थिए, तर ट्रम्पले वार्तामार्फत समाधान खोज्दा उनी सार्वजनिक रूपमा आलोचना गर्ने कुरामा सावधान बनेका थिए ।