बीबीसी । बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले रुसले ‘परिणाम भोग्नुपर्ने’ चेतावनी दिए पनि युक्रेनलाई बेलायतको समर्थन निरन्तर रहने बताएका छन् ।
रुसमा हालै भएका युक्रेनी हमलामा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि मस्कोले बेलायतलाई चेतावनी दिएको थियो । त्यसको जवाफ दिँदै बर्नहमले बेलायत ‘परिस्थितिअनुसार साथ दिने मित्र नभएको’ भन्दै युक्रेनलाई आवश्यक परेको समयमा निरन्तर साथ दिने बताएका हुन् ।
‘हामी परिस्थितिअनुसार साथ दिने मित्र होइनौँ । युक्रेनलाई आवश्यकता परेको समयमा हामी साथमा हुनेछौँ र यो परिवर्तन हुने छैन,’ उनले भने ।
यसअघि बेलायतस्थित रुसी दूतावासले बेलायतले ‘युक्रेन संकटलाई जानाजान थप चर्काउने बाटो रोजेको’ आरोप लगाएको थियो । दूतावासले द्वन्द्वमा बेलायतको संलग्नता बढ्दै गए उसले तिर्नुपर्ने मूल्यसमेत बढ्ने चेतावनी दिएको थियो ।
युक्रेनले पछिल्लो समय रुसका मस्कोसहित विभिन्न क्षेत्रमा लामो दूरीका ड्रोन हमला तीव्र बनाएको छ । तेल प्रशोधन केन्द्र तथा प्रमुख अनलाइन खुद्रा विक्रेता वाइल्डबेरीजका गोदामसमेत युक्रेनी हमलाको निशानामा परेका छन् ।
रुसको चेतावनीबारे मंगलबार सोधिएको प्रश्नमा बर्नहमले युक्रेनलाई आत्मरक्षाका लागि आवश्यक सहयोग उपलब्ध गराउनु बेलायतको निरन्तर नीति रहेको बताए । उनले यसअघि बेलायतका प्रधानमन्त्रीहरूले अपनाएको नीति आफू नेतृत्वमा पनि कायम रहने स्पष्ट पारे ।
रुसी दूतावासले बेलायतका कदमले ‘अनिवार्य रूपमा परिणाम निम्त्याउने’ र त्यसको जवाफ दिनुपर्ने चेतावनी दिएको छ । यद्यपि मस्कोले कस्तो प्रकारको कदम चाल्ने तयारी गरेको हो भन्ने खुलाएको छैन ।
रुसले युक्रेनमाथि सन् २०२२ को फेब्रुअरीमा पूर्णस्तरीय आक्रमण सुरु गरेदेखि नै बेलायत युक्रेनको प्रमुख अन्तर्राष्ट्रिय समर्थकका रूपमा रहँदै आएको छ । बेलायती रक्षा मन्त्रालयले युक्रेनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आक्रमणविरुद्ध रक्षा गर्न आवश्यक सैन्य उपकरण उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ ।
बेलायतका दुई कम्पनीले युक्रेनलाई उपलब्ध गराइएका ड्रोन निर्माण गरेको बताइएको छ । एक सैन्य स्रोतका अनुसार हालै रुसमा भएका हमलामा बेलायतमा निर्मित ड्रोन प्रयोग भएका थिए । ती हमलाबाट ३५ अर्ब पाउन्डभन्दा बढीको आर्थिक क्षति भएको दाबी गरिएको छ ।

प्रतिक्रिया