इरानसँगको सम्झौतामा अवरोध गरे ओमानमाथि हमला गर्ने ट्रम्पको चेतावनी


बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता प्रक्रियामा ‘बाधा बने’ अमेरिकाको सहयोगी राष्ट्र ओमानमाथि बमबारी गर्ने धम्की दिएका छन्। फक्स न्युजका अनुसार ट्रम्पले टेलिफोन अन्तर्वार्ताका क्रममा ओमानले आफ्नो प्रशासन र इरानबीच भइरहेको वार्तामा अवरोध गरे कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका हुन्।

अमेरिका र ओमानले इरानसँग छुट्टाछुट्टै वार्ता गर्दै विश्व अर्थतन्त्रका लागि महत्वपूर्ण मानिने होर्मुज जलडमरूमध्य पुनः सञ्चालन गर्ने प्रयास गरिरहेका छन्। अमेरिका–इरान युद्धका क्रममा पछिल्लो करिब छ महिनादेखि उक्त जलमार्ग अधिकांश रूपमा बन्द रहेको छ।

इरानी अधिकारीहरूले ओमानसँग जलडमरूमध्य हुँदै जहाज आवतजावतका लागि सम्झौता अन्तिम चरणमा पुगेको बताएका छन् । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले दुवै पक्षबीच पारवहन मार्गको नक्साका विषयमा समझदारी भएको जानकारी दिएका छन्।

उनका अनुसार संयुक्त वक्तव्य जारी गर्नुअघि सम्झौताका बाँकी विवरणलाई अन्तिम रूप दिइनेछ।
यसैबीच, अमेरिका र इरानबीच भएको ६० दिने समझदारीपत्र (एमओयू) को अवधि सकिन लागेकाले दुई देशबीचको वार्ताको भविष्य अन्योलमा परेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले एमओयूको अवधि थप गर्ने विषयमा भने असहमति जनाएका छन्।

अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि तेहरानले होर्मुज जलडमरूमध्यमा ठूलो मात्रामा जहाज आवागमन रोकेको छ। विश्वको करिब पाँचौँ भाग तेल तथा तरलीकृत प्राकृतिक ग्यास यही जलमार्ग हुँदै ओसारपसार हुने भएकाले यसको अवरोधले विश्वव्यापी ऊर्जा आपूर्तिमा असर परेको छ।

ओमानले आफू इरानसँगको द्वन्द्वमा तटस्थ रहेको बताउँदै आएको छ। यद्यपि इरानी आक्रमणको असर भोगेको ओमान अहिले तेहरानसँग जलमार्ग पुनः सञ्चालनका लागि वार्तामा महत्वपूर्ण मध्यस्थको भूमिकामा छ।

फक्स न्युजका पत्रकार ट्रेइ यिङस्टका अनुसार ट्रम्पले अन्तर्वार्ताका क्रममा भनेका छन्, ‘यदि ओमानले बाटो छेक्छ भने हामी उनीहरूलाई नराम्रोसँग बमबारी गर्नेछौँ।’ यद्यपि ट्रम्पले ओमानले आफ्नो सम्झौता प्रयासमा कस्तो किसिमको कदम चाल्दा त्यसलाई ‘बाधा’ मान्नेछन् भन्ने स्पष्ट भएको छैन।

ट्रम्पले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) सँग अमेरिकाको प्रत्यक्ष गोप्य सम्पर्क रहेको दाबीसमेत गरेका छन्। तर आईआरजीसीका प्रवक्ताले उक्त दाबी अस्वीकार गर्दै अमेरिकी पक्षसँग कुनै वार्ता नभएको बताएका छन्।