जिम्बाब्वेको करिबा तालमा डुङ्गा दुर्घटनामा ४४ जनाको मृत्यु


हरारे । जिम्बाब्वेको करिबा तालमा अत्यधिक यात्रु बोकेको डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको प्रहरीले बुधबार जनाएको छ ।

जिम्बाब्वे र जाम्बियाको सीमा क्षेत्रमा पर्ने तालबाट ४४ जनाको शव निकालिएको प्रहरीले जनाएको छ । मङ्गलबार सरकारी निकायले सञ्चालन गरेको फेरी दुर्घटनामा कति जना घाइते वा बेपत्ता छन् भन्नेबारे भने प्रहरीले जानकारी दिएको छैन ।

जिम्बाब्वेको विपद् व्यवस्थापन निकायका अनुसार दुर्घटनाका बेला डुङ्गामा कम्तीमा ११४ जना यात्रु र चालक दलका पाँच सदस्य सवार थिए ।

डुङ्गामा सवार कुल यात्रुको सङ्ख्या यकिन हुन सकेको छैन । टिकट खरिद गरेका यात्रुको मात्र विवरण उपलब्ध भएकाले टिकट आवश्यक नपर्ने उमेरका बालबालिका पनि डुङ्गामा सवार हुनसक्ने अधिकारीले बताएका छन् ।

अधिकारीका अनुसार डुङ्गाको क्षमता ९० जना मात्र थियो । उक्त डुङ्गाले करिबा ताल आसपासका ग्रामीण क्षेत्रका बासिन्दालाई तालको किनारमा रहेको करिबा सहरसम्म ओसारपसार गर्दै आएको थियो । दुर्घटनापछि बेपत्ताको खोजी तथा उद्धारकार्य जारी रहेको जनाइएको छ ।