बोगोटा । कोलम्बियामा सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १८० पुगेको छ। भूकम्पका कारण काली र पेरेइरा सहर सबैभन्दा बढी प्रभावित भएका छन्।
स्थानीय समयअनुसार सोमबार बिहान ७ः३४ बजे ७.४ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पको धक्का पश्चिमी कोलम्बियाका सयौँ माइल क्षेत्रसम्म महसुस गरिएको थियो। मंगलबारसम्म पनि लगातार परकम्पहरू गइरहेका छन्।
सरकारले आधिकारिक रूपमा मृतकको संख्या १८० रहेको जनाएको छ। तर स्थानीय अधिकारीहरूबाट प्राप्त विवरणलाई एकीकृत गर्दा मृत्यु हुनेको संख्या २४० भन्दा बढी हुन सक्ने जनाइएको छ । राष्ट्रपति अबेलार्डो डे ला एस्प्रिएल्लाले देशमा आपतकाल घोषणा गरेका छन्।
राष्ट्रपति एस्प्रिएल्लाले मंगलबार सबैभन्दा बढी प्रभावितमध्ये एक पेरेइरा सहरबाट जानकारी दिँदै भूकम्पमा करिब २ हजार ६ सय जना घाइते भएका र करिब २०० जना अझै बेपत्ता रहेको बताए।
उनका अनुसार भूकम्पका कारण १ हजार १०० भन्दा बढी घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने ८ हजारभन्दा बढी घरमा क्षति पुगेको छ।
घर भत्किएका तथा थप संरचना भत्किने डरका कारण पेरेइरा र कालीलगायत सहरमा सोमबार राति धेरै मानिसले घरबाहिरै रात बिताएका थिए।
काली सहरमा मात्रै ९५ जनाको मृत्यु भएको छ। २२ लाखभन्दा बढी जनसंख्या रहेको कालीमा उद्धार तथा राहत कार्यलाई समन्वय गर्न संयुक्त कमान्ड पोस्ट स्थापना गरिएको छ।
कालीका मेयर अलेजान्द्रो एडेरका अनुसार २३९ जना अझै भग्नावशेषमा फसेका छन्। सहरमा ९४९ जना घाइते भएका छन् भने ४५ वटा भवन पूर्ण वा आंशिक रूपमा भत्किएका छन्।
कालीस्थित एक अस्पतालका माथिल्ला केही तला पनि भत्किएका छन्। तीमध्ये केही बालबालिकाको उपचारका लागि प्रयोग हुँदै आएका थिए। भवन भत्किँदा केही बिरामी फसेका छन्।
सम्भावित लुटपाट नियन्त्रण गर्न स्थानीय प्रशासनले राति ८ बजेदेखि बुधबार बिहान ६ बजेसम्म कफ्र्यु आदेश जारी गरेको छ।
उद्धारकर्मीहरूले भग्नावशेषमा फसेकाहरूको खोजी तथा उद्धारलाई तीव्र बनाएका छन्। थप परकम्प जाने क्रम जारी रहेकाले उद्धार कार्यमा चुनौती थपिएको अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया