इस्लामाबाद । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीमा १५ जना लडाकू मारिएका छन् ।
पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (आइएसपीआर)का अनुसार प्रान्तका मास्तुङ, बोलान, वाशुक, अवारान, सिबी, खुजदार, हरनाई र नुश्की जिल्लामा ती कारबाही सञ्चालन गरिएको हो ।
कारबाहीका क्रममा १५ जना लडाकू मारिनुका साथै उनीहरूको साथबाट ठूलो परिमाणमा हतियार तथा गोलाबारुद बरामद गरिएको आइएसपीआरले जनाएको छ ।
सुरक्षा कारबाहीबाट लडाकूहरूको सञ्जालमा ठूलो क्षति पुगेको तथा उनीहरूको गतिविधि र आवतजावतमा अवरोध सिर्जना भएको सेनाले जनाएको छ ।
पाकिस्तानी सुरक्षा बलले आतङ्कवाद पूर्ण रूपमा उन्मूलन नभएसम्म लडाकूविरुद्धका कारबाही निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया