रूसी आधारहरूको भविष्यबारे मस्कोसँग सम्झौता गरेको सिरियाको दाबी


दमास्कस । सिरियाले रूसमा रहेका रूसका दुई आधारहरूको भविष्यबारे सम्झौता गरेको सिरियाली सरकारी स्रोतहरूले पुष्टि गरेका छन् ।

यी आधारहरू मस्कोले सिरियाली गृहयुद्धका बेला पदच्युत नेता बाशर अल–असदलाई सैन्य सहयोग दिन प्रयोग गर्ने गरेको थियो ।

रूस १३ वर्षे द्वन्द्वका बेला असदको मुख्य सहयोगी थियो र पूर्व नेतालाई सत्तामा टिकाइराख्न सहयोग गरेको थियो । सन् २०२४ मा उनको पदच्युतले यस क्षेत्रमा रूसको प्रभावलाई ठूलो झट्का दिएको थियो ।

राष्ट्रपति भ्लादिमिर पुटिनले त्यसयता दमास्कसका नयाँ इस्लामवादी अधिकारीहरूसँग सम्बन्ध बनाउन प्रयास गरिरहेका छन् ताकि पूर्व सोभियत सङ्घबाहिर रूसका मात्र दुई आधिकारिक सैन्य आधारहरूको भविष्य सुरक्षित गर्न सकियोस्।

सिरियाको साना न्यूज एजेन्सीले विदेश मन्त्रालयलाई उदृत गर्दै भनेको छ, ‘ह्मेइमिम हवाई आधार र तार्तुस नौसेना आधारलाई ‘आपसी हित संरक्षण गर्ने नयाँ व्यवस्थाअन्तर्गत संयुक्त तालिम तथा क्षमता अभिवृद्धि केन्द्र’ मा परिणत गरिनेछ।
डेढ वर्षको वार्तापछि भएको समझदारी पत्रले ‘प्रक्रिया पूरा गर्न तीन महिनाभन्दा बढी समयसीमा तोकेको’ सानाले उल्लेख गरेको छ।

यस बीचमा दुवै आधारका नागरिक सुविधाहरू दमास्कसलाई हस्तान्तरण गरिनेछ ।रूसले अहिलेसम्म यस सम्झौताबारे आधिकारिक टिप्पणी गरेको छैन । वार्ता चलिरहेका बेला ह्मेइमिम र तार्तुस दुवै आधार सञ्चालनमा नै छन् ।
साना न्यूज अनुसार सिरियाली विदेशमन्त्री असाद अल–शैबानीले आइतबार यी स्थलहरूको भ्रमण गरेर ‘ऐतिहासिक समझदारी पत्रमा समावेश सुविधा तथा संरचनाहरूको निरीक्षण’ गरेका थिए ।