होर्मुज नाका खोल्न इरानका ६ शर्त


बीबीसी । होर्मुज जलडमरूमध्य हुँदै सुरक्षित रूपमा समुद्री यातायात सञ्चालन गर्ने विषयमा इरान र ओमानबीच भइरहेको वार्ता सकारात्मक दिशामा अघि बढेको ओमानले जनाएको छ । यद्यपि, कुनै सम्झौता भएपनि जलडमरूमध्य तत्कालै खुल्ने अवस्था नरहेको इरानले स्पष्ट पारेको छ।

दुवै पक्षले वार्ता प्रगतिउन्मुख रहेको बताएका छन्। तर सम्झौता कहिलेसम्म टुंगोमा पुग्छ भन्नेबारे स्पष्ट समयसीमा सार्वजनिक गरिएको छैन। ओमानको विदेश मन्त्रालयले समुद्री जहाजमाथि हुने कुनै पनि आक्रमणले वार्ता र समुद्री यातायात पुनः सञ्चालन गर्ने प्रयासमा बाधा पुग्न सक्ने चेतावनी दिएको छ।

इरानी विदेशमन्त्री अब्बास अराघ्चीले वार्ता अन्तिम चरणमा पुगेको बताएका छन्। तर होर्मुज जलडमरूमध्य पुनः खोल्ने विषय भने अन्य सर्त पूरा हुनुपर्नेमा निर्भर रहेको उनको भनाइ छ।

विश्वको कुल तेल तथा प्राकृतिक ग्यास आपूर्तिको करिब पाँचमध्ये एक हिस्सा सामान्यतया होर्मुज जलडमरूमध्य हुँदै ओहोरदोहोर गर्छ। अमेरिका र इजरायलले फेब्रुअरीमा इरानमाथि आक्रमण सुरु गरेपछि तेहरानले उक्त महत्वपूर्ण जलमार्गमा प्रभावकारी रूपमा नाकाबन्दी लगाएको छ।

पछिल्ला केही दिनदेखि इरान र ओमानबीच जलडमरूमध्य हुँदै नयाँ समुद्री मार्ग सञ्चालन गर्ने सम्भावनाबारे छलफल भइरहेको छ। प्रस्तावित मार्गको व्यवस्थापन र सुरक्षाको जिम्मेवारी दुवै देशले लिने अपेक्षा गरिएको छ। यसबाट रोकिएको समुद्री यातायात पुनः सञ्चालन गर्न बाटो खुल्ने आशा गरिएको छ।

तर अराघ्चीले जलडमरूमध्य पूर्ण रूपमा खोल्नुअघि अन्य सर्तहरू पूरा हुनुपर्ने बताएका छन्। उनका अनुसार अमेरिकाले जुन महिनामा भएको युद्धविराम तथा युद्ध अन्त्यका लागि वार्ता अघि बढाउने सम्झौता उल्लंघन गरेकाले इरानले अमेरिकाबाट क्षतिपूर्ति पाउनुपर्ने माग गरेको छ।

उनका अनुसार अमेरिकाले इरानका ६ वटा माग पूरा गर्नुपर्नेछ। तीमध्ये इरानविरुद्धका धम्की रोक्ने, इरानी बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने र रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने माग छन्।