रोयटर्स । अमेरिकाको न्यू मेक्सिको राज्यको अदालतले सामाजिक सञ्जाल कम्पनी मेटालाई किशोर मानसिक स्वास्थ्य कोषमा ५६७ मिलियन अमेरिकी डलर जम्मा गर्न र किशोर प्रयोगकर्ताको सुरक्षाका लागि आफ्ना प्लेटफर्ममा व्यापक सुधार गर्न आदेश दिएको छ।
न्यायाधीश ब्रायन बिडशाइडले मेटाले बालबालिकाको मानसिक स्वास्थ्यमा हानि पुर्याउँदै न्यू मेक्सिकोमा सार्वजनिक उपद्रव सिर्जना गरेको ठहर गर्दै राज्यका महान्यायाधिवक्ता राउल टोरेजको पक्षमा फैसला सुनाएका हुन्।
महान्यायाधिवक्ता टोरेजले मेटाले फेसबुक र इन्स्टाग्रामलाई किशोर प्रयोगकर्तामा लत बस्ने गरी डिजाइन गरेको तथा बालबालिकालाई यौन शोषणबाट जोगाउन पर्याप्त सुरक्षा उपाय अपनाउन असफल भएको आरोप लगाएका थिए।
यो फैसला पाँच महिनाअघि यही मुद्दाको प्रारम्भिक चरणमा आएको निर्णयपछि आएको हो। त्यसबेला जूरीले फेसबुक र इन्स्टाग्रामलाई किशोरका लागि सुरक्षित भएको भन्दै भ्रामक जानकारी दिएको ठहर गर्दै मेटालाई ३७५ मिलियन अमेरिकी डलर तिर्न आदेश दिएको थियो।
अमेरिकाभर सामाजिक सञ्जाल कम्पनीविरुद्ध किशोर प्रयोगकर्ताको मानसिक स्वास्थ्यमा नकारात्मक असर पारेको आरोपमा मुद्दा बढिरहेका बेला यो फैसला महत्वपूर्ण मानिएको छ। हालसम्म ४० भन्दा बढी अमेरिकी राज्य र १,३०० भन्दा बढी विद्यालय जिल्लाले सामाजिक सञ्जाल कम्पनीविरुद्ध सार्वजनिक उपद्रवसम्बन्धी मुद्दा दायर गरेका छन्।
अदालतले पाँच वर्षसम्म लागू हुने आदेशअन्तर्गत फेसबुक र इन्स्टाग्राममा किशोरको मासिक प्रयोग समय सीमित गर्ने, नोटिफिकेसनमा नियन्त्रण गर्ने, वयस्क र नाबालिगबीचको सम्पर्कमा कडाइ गर्ने, एआई च्याटबोटमा सुरक्षा व्यवस्था थप्ने तथा बाल यौन दुव्र्यवहारसम्बन्धी उजुरीको प्रभावकारी समीक्षा गर्ने व्यवस्था लागू गर्न मेटालाई निर्देशन दिएको छ।
मेटाले भने उक्त निर्णयविरुद्ध पुनरावेदन गर्ने जनाएको छ। कम्पनीले आफ्ना प्लेटफर्मबाट हानिकारक सामग्री हटाउन निरन्तर काम गरिरहेको दाबी गर्दै किशोर प्रयोगकर्ताको सुरक्षाप्रति आफू प्रतिबद्ध रहेको जनाएको छ।
महान्यायाधिवक्ता टोरेजले मेटाले बालबालिकाको सुरक्षाभन्दा नाफालाई प्राथमिकता दिएको आरोप लगाउँदै यो फैसला सामाजिक सञ्जाल कम्पनीलाई बालबालिकाको सुरक्षाका लागि नीतिगत परिवर्तन गर्न बाध्य पार्ने पहिलो ऐतिहासिक निर्णय भएको बताएका छन्।

प्रतिक्रिया