रोयटर्स । इरानसँग पाँच महिनादेखि जारी युद्धका क्रममा अमेरिकाले आफ्नो लामो दूरीका अधिकांश सटीक क्षेप्यास्त्र प्रयोग गरिसकेको खुलेको छ । यसले भविष्यमा सम्भावित सैन्य द्वन्द्वका लागि अमेरिकी सेनाको तयारीलाई लिएर चिन्ता बढाएको छ।
रोयटर्सले यस विषयमा जानकार तीन स्रोतलाई उदृत गर्दै अमेरिकी सेनाले आर्मी ट्याक्टिकल मिसाइल सिस्टम र प्रिसिजन स्ट्राइक मिसाइलको विश्वव्यापी मौज्दातको ठूलो हिस्सा प्रयोग गरिसकेको जनाएको हो ।
तीमध्ये दुई स्रोतका अनुसार अमेरिका यी हतियारहरू “झण्डै सबै“ प्रयोग गरिसकेको अवस्थामा पुगेको छ।
आर्मी ट्याक्टिकल मिसाइल सिस्टम र प्रिसिजन स्ट्राइक मिसाइल अमेरिकी सेनाका सतहबाट सतहमा प्रहार गर्न सक्ने उच्च सटीकतायुक्त लामो दूरीका क्षेप्यास्त्र हुन् ।
प्रत्येक क्षेप्यास्त्रको मूल्य १० लाख अमेरिकी डलरभन्दा बढी पर्ने बताइएको छ। सुरक्षित दूरीबाट लक्ष्यमा आक्रमण गर्न सक्ने भएकाले यी अमेरिकी सैन्य रणनीतिको महत्वपूर्ण हिस्सा मानिन्छन्। अमेरिकाले उपलब्ध गराएका क्षेप्यास्त्र युक्रेन–रुस युद्धमा पनि व्यापक रूपमा प्रयोग भएका छन् ।
स्रोतहरूका अनुसार लामो दूरीका सटीक क्षेप्यास्त्रको मौज्दात घट्दै जाँदा राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः ठूलो सैन्य अभियान सञ्चालन गरेमा चालकसहितका बमवर्षक विमानमा बढी निर्भर हुनुपर्ने अवस्था आउन सक्छ। यद्यपि अमेरिकासँग अहिले कति क्षेप्यास्त्र बाँकी छन् भन्ने विवरण सार्वजनिक गरिएको छैन।
ट्रम्पले फेब्रुअरीमा इजरायलसँग मिलेर इरानविरुद्ध सैन्य अभियान सुरु गर्दा युद्ध छोटो समयमै सकिने बताएका थिए। तर युद्ध लम्बिँदै जाँदा क्षेप्यास्त्रको मौज्दात घट्नुले रुस र चीनजस्ता सम्भावित प्रतिद्वन्द्वीलाई रोक्ने अमेरिकी क्षमतामा असर पर्न सक्ने चिन्ता स्रोतहरूले व्यक्त गरेका छन्।
यस विषयमा प्रतिक्रिया दिँदै ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पको भनाइ उदृत गर्दै अमेरिकासँग विश्वका अन्य कुनै पनि देशभन्दा बढी हतियार मौज्दात रहेको जनाएको छ। ट्रम्पले अमेरिकी रक्षा उद्योगले इतिहासकै उच्च दरमा हतियार उत्पादन गरिरहेको र उत्पादन क्षमता निरन्तर विस्तार भइरहेको दाबी गरेका छन्।
तर रक्षा विश्लेषकहरूले उत्पादन दर बढे पनि लामो समयसम्म चल्ने युद्धका लागि तोपका गोला र विभिन्न प्रकारका क्षेप्यास्त्रको मौज्दात पर्याप्त नहुन सक्ने चेतावनी दिएका छन्।
यसैबीच, अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) का प्रमुख प्रवक्ता शन पार्नेलले अमेरिकी सेना विश्वकै सबैभन्दा शक्तिशाली रहेको र राष्ट्रपतिले आवश्यक ठानेको समय र स्थानमा कारबाही गर्न पर्याप्त सैन्य क्षमता तथा हतियार मौज्दात रहेको बताएका छन्।

प्रतिक्रिया