वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता जारी रहेको दाबी गर्दै तेहरानलाई सम्झौतामा पुग्न ‘अन्तिम अवसर’ रहेको चेतावनी दिएका छन् । इरानले भने वासिङ्टनसँग प्रत्यक्ष वार्ता भइरहेको दाबी अस्वीकार गर्दै आफूहरूको संवाद केवल हर्मुज जलघाँटीमा सुरक्षित जलमार्ग सुनिश्चित गर्ने विषयमा ओमानसँग केन्द्रित रहेको जनाएको छ ।
ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतारलगायत क्षेत्रीय मुलुकहरूको आग्रहमा इरानसँग संवाद जारी राख्न सहमत भएको बताए । उनले इरानले अस्वीकार गरे पनि दुवै पक्षबीच वार्ता भइरहेको दाबी गर्दै तेहरानलाई उपयुक्त दस्तावेजमा हस्ताक्षर गर्ने अन्तिम अवसर दिइएको उल्लेख गरे ।
ट्रम्पका अनुसार वार्ताको मुख्य उद्देश्य हर्मुज जलघाँटी पुनः सञ्चालनमा ल्याउनु र इरानको आणविक कार्यक्रमलाई निःशस्त्रीकरणतर्फ लैजानु हो । उनले हर्मुज निकट भविष्यमा खुल्न सक्ने सम्भावना रहेको तर आणविक निःशस्त्रीकरण प्रक्रियाले केही समय लाग्न सक्ने बताए ।
यद्यपि इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले अमेरिका र इरानबीच प्रत्यक्ष वार्ता नरहेको स्पष्ट पारेका छन् । उनका अनुसार ओमानसँग हर्मुज जलघाँटी हुँदै सुरक्षित आवागमनको व्यवस्थाबारे छलफल भइरहेको हो । उनले सम्भावित सहमतिले जलघाँटी तत्काल खुल्ने अर्थ नलाग्ने पनि स्पष्ट गरेका छन् ।
फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण सुरु गरेपछि दुवै पक्षबीच द्वन्द्व जारी छ । बीचमा केही समय कूटनीतिक प्रयासका कारण तनाव कम भए पनि इरानले अझै पनि मिसाइल र ड्रोन आक्रमण गर्ने क्षमता कायम राखेको तथा समृद्ध युरेनियमको मौज्दात सुरक्षित राखेको अमेरिकी पक्षको दाबी छ ।

प्रतिक्रिया