प्यालेस्टिनी झण्डा प्रदर्शनपछि ‘म्यासिभ अट्याक’लाई सिङ्गापुरमा प्रतिबन्ध


सिङ्गापुर । कन्सर्टका क्रममा प्यालेस्टिनी झण्डा प्रदर्शन गरेको पुष्टि भएपछि बेलायती ट्रिप–हप ब्यान्ड ‘म्यासिभ अट्याक’ लाई सिंगापुरमा भविष्यमा प्रस्तुति दिन प्रतिबन्ध लगाइएको प्रहरीले जनाएको छ।

प्रहरीले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार बुधबार आयोजित कन्सर्टका क्रममा मञ्चमा प्यालेस्टिनी झण्डा प्रदर्शन गर्ने ब्यान्डका दुई सदस्यलाई कडा चेतावनी दिइएको छ। साथै उनीहरूलाई सिङ्गापुरमा पुनःप्रवेश गर्न पनि प्रतिबन्ध लगाइएको छ। यद्यपि, उनीहरूको नाम सार्वजनिक गरिएको छैन।

सार्वजनिक सभा तथा अभिव्यक्तिसम्बन्धी कडा कानुनका लागि परिचित सिंगापुरमा सरकारी अनुमति बिना विदेशी झण्डा, राष्ट्रिय प्रतीक वा ब्यानर सार्वजनिक रूपमा प्रदर्शन गर्न निषेध छ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा ब्यान्डका दुई सदस्यले मञ्चमा प्यालेस्टिनी झण्डा फहराएको तथा तीमध्ये एकले ‘फ्रि प्यालेस्टाइन’ भन्ने नारा लगाएको देखिएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

अनुसन्धान पूरा गरी सरकारी वकिलसँग परामर्श गरेपछि प्रहरीले दुवै सदस्यलाई चेतावनी दिँदै सिंगापुर प्रवेशमा प्रतिबन्ध लगाइएको जनाएको छ। सिंगापुरको मिडिया नियामक निकायले पनि कन्सर्ट आयोजकले लाइसेन्सका सर्त उल्लङ्घन गरेको हुन सक्ने विषयमा छुट्टै अनुसन्धान गरिरहेको जनाएको छ।

प्रहरीका अनुसार आयोजकले लाइसेन्सका सबै सर्त स्वीकार गरे पनि कार्यक्रमका क्रममा ब्यान्डका सदस्यहरूले विदेशी झण्डा प्रदर्शन गरेका थिए। यसैलाई आधार बनाएर भविष्यमा उक्त ब्यान्डलाई सिङ्गापुरमा प्रस्तुति दिन अनुमति नदिने निर्णय गरिएको छ।

कन्सर्ट आयोजकले एएफपीको प्रतिक्रिया माग्ने अनुरोधको तत्काल जवाफ दिएको छैन। गाजामा इजरायली सैन्य कारबाहीको आलोचना गर्दै आएको ‘म्यासिभ अट्याक’ प्यालेस्टिनी पक्षको समर्थनमा खुलेर आवाज उठाउने ब्यान्डका रूपमा परिचित छ।

गत अप्रिलमा बेलायतमा प्रतिबन्धित अभियानकारी समूह ‘प्यालेस्टाइन एक्सन’को समर्थनमा लन्डनको ट्राफलगर स्क्वायरमा आयोजित प्रदर्शनमा पक्राउ परेका २०० भन्दा बढी व्यक्तिमध्ये ब्यान्डका प्रमुख गायक रोबर्ट डेल नाजा पनि थिए।

दक्षिण–पूर्वी एसियाको प्रमुख कन्सर्ट गन्तव्यका रूपमा परिचित सिङ्गापुरले हालै टेलर स्विफ्ट, कोल्डप्ले, एड शिरान र ब्रुनो मार्सजस्ता अन्तरराष्ट्रिय कलाकारका प्रस्तुति आयोजना गरेको छ।

प्रहरीले विदेशी नागरिकसहित सबैलाई विदेशी राजनीतिक मुद्दालाई सिङ्गापुरमा नल्याउन आग्रह गर्दै त्यसले सामाजिक सद्भाव र कानुनको शासनमा असर पार्न सक्ने चेतावनी दिएको छ।