पेरिस । जलवायु परिवर्तनको कारणले पछिल्लो आधा शताब्दीमा विश्वभर उच्च तापक्रमका कारण हुने तनाव (हिट स्टे«स) को सामना गर्नुपर्ने मानिसहरूको सङ्ख्या अत्यधिक बढेको छ । युरोप तीव्र गर्मीको लहरबाट पीडित बनिरहेका समय सोमबार जारी गरिएको एक अध्ययनले यो देखाएको हो ।
हिट स्ट्रेस भनेको अत्यधिक तापक्रम, आद्र्रता र अन्य कारकहरूका कारण शरीरमा खतरनाक रूपमा तातो जम्मा हुनु हो। यो मौसमले मानिसलाई मार्ने सबैभन्दा सामान्य तरिकामध्ये एक हो ।
‘नेचर क्लाइमेट चेन्ज’ नामक जर्नलमा प्रकाशित नयाँ अध्ययनले सन् १९७० को दशकदेखि सन् २०२४ सम्म हिट स्ट्रेस कसरी बढ्यो भन्ने अध्ययनको रेकर्ड गरिएको छ ।
“हरेक महादेशमा मजबुतदेखि अत्यधिक धेरै ‘हिट स्ट्रेस’ अब बढी बारम्बार भएको छ,” अध्ययनका प्रमुख लेखक रेबेका एमर्टन (युरोपेली मध्यम–दूरी मौसम पूर्वानुमान केन्द्र) ले एएफपीसँग भने ।
उदाहरणका लागि सन् १९७० को दशकमा विश्वको १६ प्रतिशत जनसङ्ख्याले कम्तीमा एक दिन अत्यधिक हिट स्ट्रेस (जसमा तापक्रम कम्तीमा ४६ डिग्री सेल्सियस थियो) को सामना गरेको थियो । पचास वर्षपछि यो दर बढेर अहिले २२ प्रतिशत पुगेको छ । “यो धेरै बढी लाग्दैन,” एमर्टनले भने ।
“तर दर बढेसँगै सन् १९७० को दशकको तुलनामा करिब एक अर्ब अतिरिक्त मानिसहरू अहिले अत्यधिक हिट स्ट्रेसको सामना गरिरहेका छन्,” उनले भने ।
अध्ययनले ‘युनिभर्सल थर्मल क्लाइमेट इन्डेक्स’ प्रयोग गरेको थियो, जसले आद्र्रता, हावा, विकिरण र मानव शरीरले तातोपनलाई कसरी प्रतिक्रिया दिन्छ भन्ने समावेश गरी ‘महशुस गरिनेजस्तो’ तापक्रम देखाउँछ।
मानव–प्रेरित विश्वव्यापी तातोपनका कारण हिट स्ट्रेसका घटनाहरू बढी बारम्बार, गम्भीर र लामो समयसम्म रहने भएकाले दैनिक औसत तापक्रम बढिरहेको अध्ययनले पत्ता लगाएको छ।
स्पेन, पोर्चुगल, इटाली र फ्रान्स जस्ता केही देशहरूमा अहिले ‘महशुस गरिने’ तापक्रम सन् १९७० को दशकको तुलनामा पाँच डिग्री सेल्सियससम्म बढी रहेको एमर्टनले बताए ।
फ्रान्समा सोमबार यो वर्षको दोस्रो अत्यन्त तीव्र गर्मीको लहरका क्रममा दुई बालबालिकाको मृत्यु भएको छ । हिट स्ट्रेस ‘ऐतिहासिक रूपमा कहिल्यै नभएका क्षेत्रहरूमा पनि फैलिँदै गएको’ एमर्टनले बताए ।
उदाहरणका लागि, कम्तीमा ३८ डिग्री सेल्सियस “महशुस हुने तापक्रमसहितको अत्यन्त कडा हिट स्ट्रेस अब उत्तर अमेरिका, बेलायत र स्क्यान्डिनेभियाका केही भागमा पुगेको छ ।
अध्ययनकर्ताहरूले अटुट रूपमा तातो रातहरूको विश्वव्यापी वृद्धिलाई पनि रेकर्ड गरेका छन् । “रातमा विशेष गरी कमजोर व्यक्तिहरूका लागि जब कुनै तापक्रमबाट राहत मिल्दैन र शरीर चिसो हुन सक्दैन, त्यो मानिसको स्वास्थ्यका लागि अत्यन्त खतरनाक हुन्छ,” एमर्टनले भने ।
अध्ययन अनुसार विश्वका धेरैजसो भागमा ‘ट्रपिकल नाइट’ (जसमा महशुस गरिने तापक्रम २० डिग्री सेल्सियसभन्दा माथि रहन्छ) को सङ्ख्या बढेको छ।
यद्यपि अध्ययनले सन् २०२४ सम्मको मात्र तथ्याङ्कको अध्ययन गरेको थियो तर एमर्टनले यस वर्ष युरोपमा भइरहेको गर्मीको लहरले यो प्रवृत्ति जारी रहेको संकेत गरेको बताए ।

प्रतिक्रिया