जुम्ला । जुम्लाबाट हालसम्म सात हजार ३३० मेट्रिकटन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ। कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा उत्पादन भएको स्याउमध्ये हालसम्म उक्त परिमाण निर्यात भएको हो। कार्यालयका प्रमुख रामभक्त अधिकारीले यस वर्ष जिल्लामा करिब १९ हजार ५०० मेट्रिकटन स्याउ उत्पादन हुने र ५५ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको बताए।
हाल किसानले स्थानीय बगैँचाबाट प्रतिकेजी न्यूनतम ७५ रुपैयाँमा स्याउ बिक्री गरिरहेका छन्। तातोपानी गाउँपालिका–६ स्थित बाँजारावलामा सात हजार १४० रोपनी क्षेत्रफलमा गरिएको सामूहिक स्याउ खेतीबाट मात्रै ३४ मेट्रिकटन स्याउ उत्पादन भएको छ। उक्त स्याउबाट ३० लाख रुपैयाँ बराबरको कारोबार भएको कार्यालय प्रमुख अधिकारीले बताए।
जुम्लामा झण्डै चार हजार ६०५ हेक्टर अर्थात् ९२ हजार ८० रोपनी क्षेत्रफलमा स्याउ खेती हुँदै आएको छ। चालु आर्थिक वर्षमा थप १०८ हेक्टर अर्थात् दुई हजार १६० रोपनी क्षेत्रफलमा स्याउ खेती विस्तार गर्ने लक्ष्य कार्यालयले लिएको छ।
उच्च जातको फुजी स्याउ खेती भने जम्मा ५२ हेक्टरमा गरिएको छ। यस वर्ष ४९ हेक्टरमा मात्रै फुजी स्याउ फलेको कृषि विकास कार्यालयले जनाएको छ। यसैगरी, रेड डेलिसेस, रोयल डेलिसेस, गोल्डेन, रिचा रेड, जनाथन र स्पोरलगायत जातका स्याउको खेती तथा बिक्री वितरण हुँदै आएको छ।
केही व्यापारीले स्याउ कोल्ड स्टोरका साथै घरमै भण्डारण गरेकाले निर्यात र कारोबारको रकम अझ बढ्न सक्ने अनुमान गरिएको छ। कार्यालयका अनुसार जुम्लाका आठवटै स्थानीय तहका करिब १९ हजार घरधुरी स्याउ खेतीमा निर्भर छन्।
यस वर्ष भारतबाट आउने स्याउ नेपालमा बन्द भएपछि जुम्लाको स्याउले राम्रो बजार पाएको छ। हिमा गाउँपालिकाकी स्थानीय स्याउ व्यापारी माया रोकायाले जिल्लाबाट एक हजार ५०० कार्टुन स्याउ खरिद गरी नेपालगञ्जमा बिक्री गरेको बताइन्।

प्रतिक्रिया