बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति


म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट चीन र भारतलाई जोड्ने बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्ब रुपैयाँ बराबरको भौतिक संरचनाहरुको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।

असोज ८ देखि ११ गतेसम्मको झरीपछि पहिरो, कालीगण्डकी नदीमा आएको बाढी र कटानका कारण क्षतविक्षत भएको सडक पुनर्निर्माणका लागि तीनदेखि चार अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ । आयोजना प्रमुख तेजस्वी शर्माले कालीगण्डकीको बाढीले १० ठाउँमा सडक बगाएको, भत्काएको तथा ५० ठाउँमा पहिरोले क्षति पुर्याएको बताए ।

‘८० देखि ९० करोड रुपैयाँ क्षति भएको अनुमान गरिएको सडकलाई प्रारम्भिक मर्मत गरेर दुई हप्तामै सञ्चालनमा ल्याए पनि पुुरानै अवस्थामा ल्याउन थप तीनदेखि चार अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने अनुमान गरेका छौँ,’ उनले भने, ‘पहिरो र नदी नियन्त्रणसँगै यसअघि डिबिएसडी कालोपत्र भएको सडकको म्याग्दी खण्डमा अक्सफाल्ट पिचको डिजाइनअनुसार काम गर्नुपर्ने भएको छ ।’

पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङको कोरला नाका जोड्ने २ सय २ किलोमिटर सडकमध्ये सबैभन्दा बढी म्याग्दी खण्डको ३३ किलोमिटर दूरीमा क्षति पुगेको छ । यसअघिका पहिरो र कटानको जोखिम भनिएका ठाउँका अलावा नयाँ ठाउँमा पनि कटान र पहिरो सिर्जना भएको छ ।

सङ्घीय सडक सुपरिक्षवेक्षण कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीले विसं २०७३–७४ मा सुरु भएको बेनी–जोमसोम–कोरला सडकमा हालसम्मकै धेरै क्षति भएको बताए ।

यसअघि एक घण्टा तीन मिनेट लाग्ने म्याग्दी खण्ड पार गर्न बाढी पहिरोपछि तीनदेखि चार घण्टा लाग्न थालेको छ । पर्वतको फर्से, केराबारी, लामाबगर, म्याग्दीको तिल्केनीचौर, राहुपारे, बैसरी, सिरुवारी, कुनौटा, महभिर, भिरकाटे, धिरच्याङ, रातोपानी, नौनीबगर, तातोपानी, गुइठेभिर, खामभित्ता, सुकेबगर क्षेत्रमा पहिरो र कटानले ठूलो क्षति गरेको छ ।

कालीगण्डकीले बगाएको पोखरेबगर सडक पुलको अस्थायी मार्ग बनाएर यातायात सञ्चालन गरिएको छ । पहिरो र कटान भएको ठाउँमा एकतर्फी गाडी चलाउन मिल्ने गरी मार्ग खोलिएको हुँदा सवारीसाधन फस्ने, जाम हुने समस्या रहेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए । कोरला नाका जाने आउने कन्टेनर, नाकाबाट भित्रने सवारीसाधनदेखि मुस्ताङ जाने आउने पर्यटक र स्थानीयवासीको चाप धेरै हुने गरेको छ ।

कोरला नाका, पर्यटकीय र आन्तरिक यातायातका हिसाबले बेनी–जोमसोम–कोरला सडकलाई महत्वपूर्ण मानिएको छ । केही दिनअघि क्षतिग्रस्त सडकको निरीक्षण गर्नुभएका नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले भौतिक संरचनाको पुनर्निर्माणमा सरकारले बजेटको कमी हुन नदिने र कामलाई तीव्र गतिमा अघि बढाउन निर्देशन दिएका थिए ।