बीबीसी । गाजामा इजरायलले गरेको हवाई आक्रमणमा अल जजिराका एक क्यामेराम्यानसहित ६ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीले बताएका छन्।
अल जजिराले शनिबार मध्य गाजाको एक घरमा भएको आक्रमणमा आफ्ना संवाददाता तथा क्यामेराम्यान अहमद विशाहको मृत्यु भएको पुष्टि गर्दै उक्त घटनालाई ‘लक्षित हत्या’ भन्दै कडा निन्दा गरेको छ ।
यद्यपि, इजरायली रक्षा बल (आईडीएफ) ले विशाह हमासको सैन्य शाखासँग आबद्ध व्यक्ति भएको र स्नाइपर अपरेटरका रूपमा कार्यरत रहेको दाबी गरेको छ।
गाजास्थित हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गत अक्टोबरमा इजरायल–हमासबीच युद्धविराम लागू भएयता इजरायली सैन्य कारबाहीमा १ हजार ७ जना मारिएका छन्।
अल जजिराले विशाहको मृत्यु अन्तर्राष्ट्रिय कानुन र मान्यतामाथिको गम्भीर उल्लंघन भएको तथा पत्रकारहरूलाई लक्षित गर्ने र सत्यको आवाज दबाउने योजनाबद्ध नीतिको निरन्तरता भएको जनाएको छ।
आईडीएफले विशाहले पछिल्ला महिनाहरूमा इजरायली सैनिकहरूविरुद्ध स्नाइपर आक्रमणको योजना अगाडि बढाएको आरोप लगाए पनि त्यससम्बन्धी कुनै प्रमाण सार्वजनिक गरेको छैन।
बुरेज शरणार्थी शिविरस्थित एक घरमा भएको सो आक्रमणमा विशाहसहित अन्य दुई जनाको पनि मृत्यु भएको स्थानीय अस्पताल र हमासद्वारा सञ्चालित नागरिक सुरक्षा निकायले जनाएको छ। आईडीएफले ती दुई व्यक्ति पनि हमाससँग आबद्ध रहेको दाबी गरेको छ।
विशाहका दाजु मोहम्मद विशाह, जो अल जजिराकै संवाददाता थिए, गत अप्रिलमा इजरायली आक्रमणमा मारिएका थिए। आईडीएफले उनलाई हमासको रकेट तथा हतियार उत्पादन केन्द्रसँग सम्बन्धित रहेको आरोप लगाएको थियो।
यसैबीच, गाजा सहरको साब्रा क्षेत्रमा रातभर भएको अर्को हवाई आक्रमणमा एउटै परिवारका चार सदस्य मारिएका छन्। नागरिक सुरक्षा निकाय, आफन्तजन तथा नजिकैको अस्पतालका अनुसार आक्रमण घरलाई लक्षित गरेर गरिएको थियो।
शिफा अस्पतालले दुई बालबालिकासहित परिवारका सदस्यहरूको शव प्राप्त भएको जनाएको छ। चिकित्सकहरूका अनुसार उक्त आक्रमणमा दुई महिला र एक बालकको पनि मृत्यु भएको छ।
गत अक्टोबरदेखि लागू युद्धविराम उल्लंघन गरेको आरोप इजरायल र हमास दुवैले एकअर्कामाथि लगाउँदै आएका छन्।

प्रतिक्रिया