सडक अवरोधले इन्धन र खाद्यान्न सङ्कट बढेपछि बोलिभियामा सङ्कटकालको घोषणा


बोलिभिया । राष्ट्रपति रोद्रिगो पाजले शनिबार सङ्कटकालीन अवस्था घोषणा गरेका छन् । यसले सेनालाई देशको राजधानी ला पाजलगायत प्रमुख शहरहरूमा इन्धन र खाद्यान्न आपूर्तिमा ठूलो अवरोध पुर्याइरहेका सडक अवरोध हटाउने व्यापक अधिकार दिनेछ ।

पाँच सातादेखि चलेको विरोध प्रदर्शनमा सरकारले लगाएको कडा मितव्ययिता नीति (विशेष गरी इन्धन अनुदान कटौती) र अन्य मुद्दाहरूको विरोध गर्दै राष्ट्रपति पाजले राजीनामा दिनुपर्ने माग गरिएको छ । प्रदर्शनका क्रममा डाइनामाइट बोकेका प्रदर्शनकारी र दङ्गा प्रहरीबीच हिंसात्मक झडप भएका छन् । अधिकारीहरूका अनुसार हालसम्म कम्तीमा ३६५ जनालाई पक्राउ गरिएको छ र ३७ जना घाइते भएका छन् ।

बोलिभियाको मानव अधिकार आयोग र राष्ट्रिय मानवअधिकार संस्थाहरूका अनुसार आन्दोलनका क्रममा कम्तीमा १७ जनाको मृत्यु भएको छ, जसमध्ये धेरैजसाकोे यातायात अवरोधका कारण समयमै उपचार नपाएर मृत्य भएको हो ।

प्रमुख सडकहरूमा गरिएका अवरोधले ला पाज शहरलाई पूरै घेराबन्दीमा पारेको छ । घेराबन्दीले इन्धन र खाद्यान्नको अभाव, यातायात सेवा ठप्प र बिरामीहरूलाई अस्पताल पुग्न नदिँदा कम्तीमा सात जनाको मृत्यु भएको सरकारले जनाएको छ ।

करिब २० वर्षसम्म शासन गरेको मास पार्टीको अन्त्य गर्दै रोद्रिगो पाज गत नोभेम्बरमा सत्तामा आएका थिए । उनले इन्धन अभाव समाधान गर्ने, केन्द्रीय बैंकको खाली भइसकेको कोष र विदेशी लगानी बढाउने वाचा गरेका थिए । तर उनको इन्धन अनुदान कटौतीलगायत मितव्ययिता नीतिले मुद्रास्फीति बढाएको र जनस्तरमा असन्तुष्टि बढाएको छ ।

राष्ट्रपति पाजले राष्ट्रलाई सम्बोधन गर्दै भने, “यो सङ्कटकाल जनताको जीवनलाई प्रतिबन्ध लगाउन होइन, बरु उनीहरूलाई स्वतन्त्रता फिर्ता दिनका लागि हो ।”

प्रदर्शनका कारण व्यवसाय बन्द हुँदा सुपरमार्केटका सामान सकिएका छन् र अस्पतालहरूमा अक्सिजनको अभाव भएको छ ।