बीबीसी । इजरायल र हिजबुल्लाहबीच युद्धविराम सहमति भएको अमेरिकी अधिकारीले बताएका छन् । तर युद्धविराम लागू भएलगत्तै दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमण जारी रहँदा कम्तीमा ४७ जनाको मृत्यु भएको छ।
सम्झौता अमेरिका–इरानबीच भएको युद्ध अन्त्य गर्ने सहमतिलाई कमजोर बनाउन सक्ने निरन्तर झडपप्रति बढ्दो चिन्तापछि भएको हो। यसअघि दक्षिणी लेबनानमा भएको भिडन्तमा हिजबुल्लाहले चार इजरायली सैनिक मारिएका जनाएको थियो।
इजरायली सेनाले युद्धविराम लागू भएको पुष्टि गरे पनि आफ्नो सैन्य कारबाही तत्काल रोक्ने संकेत दिएको छैन। सेनाका प्रवक्ताले “तत्कालीन खतराहरू हटाउने कार्य जारी रहने“ बताएका छन्।
हिजबुल्लाहले औपचारिक रूपमा युद्धविरामको पुष्टि नगरे पनि संगठनका महासचिव शेख नइम कासिमले ‘हिजबुल्लाहलाई समाप्त गर्ने योजना असफल भएको’ प्रतिक्रिया दिएका छन्।
नाबातियेह शहरका उद्धार अधिकारीहरूका अनुसार स्थानीय समयअनुसार अपराह्न ४ बजे युद्धविराम लागू भएयता पनि कम्तीमा १२ वटा हवाई आक्रमण भएका छन्।
यो घटनाक्रमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग गरेको सम्झौताको कार्यान्वयनमा चुनौती देखिएको विश्लेषण गरिएको छ। अमेरिका र इरानबीचको समझदारीपत्रले लेबनानमा समेत युद्धविरामको व्यवस्था गरेको भए पनि स्थलस्थितिमा हिंसा रोकिएको छैन।
इरानले इजरायललाई नियन्त्रणमा राख्न ट्रम्प असफल भएको आरोप लगाएको छ। ट्रम्पले समेत आफ्ना सहयोगी इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूमाथि सर्वसाधारणको ज्यान जाने गरी सैन्य कारबाही गरेको आरोप लगाएका छन्।
इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन गभिरले चार सैनिकको मृत्युबारे प्रतिक्रिया दिँदै लेबनानविरुद्ध कडा कदम चाल्नुपर्ने बताएका छन्।
इरानी विदेशमन्त्री अब्बास अराघचीले इजरायल ‘स्थायी युद्ध चाहने पक्ष’ भएको आरोप लगाउँदै समझदारीपत्र उल्लंघन भए त्यसको जिम्मेवारी अमेरिकामाथि पनि जाने चेतावनी दिएका छन्। हिजबुल्लाहले दक्षिणी लेबनानमा इजरायली सैन्य समूहलाई लक्षित गर्दै तीन ट्यांक ध्वस्त पारेको र रकेट तथा तोप आक्रमण गरेको जनाएको छ। उक्त झडपमा एक बटालियन कमाण्डरसहित चार इजरायली सैनिक मारिएका थिए।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली हवाई आक्रमणमा महिला र बालबालिकासहित ४७ जनाको मृत्यु भएको छ भने ९७ जना घाइते भएका छन्। नाबातियेह जिल्लाको हारौफ, हाबुश र अल–दुवेइर क्षेत्रमा सबैभन्दा बढी मानवीय क्षति भएको जनाइएको छ।

प्रतिक्रिया