बीबीसी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा नियन्त्रण गर्ने योजना अघि सारेका छन् । मन्त्रिपरिषद्को बैठकअघि फक्स न्यूजसँगको अन्तर्वार्तामा नेतन्याहुले गाजाको पूर्ण नियन्त्रण लिनु इजरायलको सुरक्षाका लागि आवश्यक भएको बताउँदै हमासलाई हटाएर अर्को निकायलाई नागरिक शासन हस्तान्तरण गरिने उल्लेख गरेका छन् ।
उनले भने, ‘हामी त्यहाँ शासन गर्न चाहँदैनौं, हामी यसलाई अरब शक्तिहरूलाई हस्तान्तरण गर्न चाहन्छौं।’ तर कुन देशले उक्त भूमिका निर्वाह गर्ने भन्ने विषयमा उनले स्पष्ट जानकारी दिएनन् ।
हाल इजरायली सेनाले गाजाको लगभग ७५ प्रतिशत भूभाग नियन्त्रणमा लिएको दाबी गर्दै आएको छ । नेतन्याहुको योजना अनुसार सैन्य कारबाहीलाई मध्य गाजाको शिविर र गाजा सहरसम्म विस्तार गर्ने तयारी भइरहेको छ, जहाँ अनुमानित १० लाख मानिस बसोबास गर्छन् र बन्धकहरू पनि त्यहीँ राखिएको विश्वास गरिएको छ ।
सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल आयाल जमिरकाअनुसार यसले २० जना जीवित बन्धकको ज्यानलाई जोखिममा पार्नेछ, साथै लामो समयदेखि खटिएका सैनिकहरूको सुरक्षामा पनि असर पर्नेछ ।
बन्धक परिवारहरू पनि सम्झौतामार्फत बन्धकहरू फिर्ता ल्याउनु नै उपयुक्त उपाय भएको बताउँदै आएको छन्।

प्रतिक्रिया