बेलारुसका विपक्षी नेता तिखानोभ्स्की जेलबाट रिहा
वार्सा । बेलारुसका एक शीर्ष विपक्षी नेता सर्गेई तिखानोभ्स्कीलाई माफी दिएपछि जेलबाट रिहा गरिएको बेलारुसको मानव अधिकार वादी समूह भायास्नाले शनिबार जनाएको छ।
तिखानोभ्स्कीलाई हिरासतमा लिएपछि विपक्षी मुद्दाको बागडोर सम्हाल्दै आएकी उनकी पत्नी स्वेतलाना तिखानोभ्स्कायाले रिहाईपछि आफ्ना पतिलाई अङगालोमा बेर्दै मुस्कुराइरहेको एक भिडियो शेयर गर्दै क्याप्सनमा रिहाइबारे लेखेकी छन्, ‘स्वतन्त्र।’
४६ वर्षीय विपक्षी नेता तिखानोभ्स्की पाँच वर्षभन्दा बढी समयदेखि जेलमा थिए । उनले सन् २०२० को अगष्टमा हुने राष्ट्रपतीय चुनावमा बेलारुसका वर्तमान नेता अलेक्जेन्डर लुकाशेन्कोविरुद्ध चुनाव लड्ने योजना बनाएका थिए ।
उनको गिरफ्तारीको समयमा खासै राजनीतिक रूपमा निपुण नरहेकी उनकी पत्नी स्वेतलानाले चुनावमा तिखानोभ्स्कीको स्थानमा प्रतिस्पर्धा गरेकी थिइन् ।
तिखानोभ्स्कीलाई सन् २०२१ मा ‘दङ्गा भड्काएको’ र देशविरूद्ध ‘घृणा जगाएको’ अभियोगमा १८ वर्षको जेल सजाय सुनाइएको थियो ।
सन् १९९४ देखि लुकाशेन्कोको शासन रहेको बेलारुसले सबै विपक्षी आन्दोलनलाई गैरकानुनी घोषित गरेको छ र मृत्युदण्डलाई सजायको रूपमा कायम राख्ने एक मात्र युरोपेली देश बनेको छ ।
भायास्नाका अनुसार देशमा विपक्षी आन्दोलनलाई समर्थन गरेकै अभियोगमा सजाय पाएका एक हजारभन्दा बढी राजनीतिक बन्दी छन् ।