स्टार्टअप समिट नेपाल २०२६ का प्रतिनिधि र नेपालका लागि पाकिस्तानी राजदूतबीच भेटवार्ता


काठमाडौं । नेपालका लागि पाकिस्तानका राजदूत मोहमद अमिर खान र स्टार्टअप समिट नेपाल–२०२६ का प्रतिनिधिबीच आज पाकिस्तानी दूतावास, महाराजगञ्जमा भेटघाट तथा छलफल भएको छ। भेटमा नेपाल–पाकिस्तान मैत्री सम्बन्धलाई युवाको उद्यमशीलता, ज्ञान, सीप र सहकार्यसँग जोड्दै दुवै देशका युवाका लागि नयाँ अवसर सिर्जना गर्ने विषयमा सकारात्मक छलफल भएको छ।

भेटका क्रममा राजदूत खानले नेपाल प्राकृतिक तथा भौगोलिक विविधताका दृष्टिले विश्वकै सुन्दर मुलुकमध्ये एक रहेको उल्लेख गर्दै नेपालीहरूको आत्मीयता, सरलता र सहयोगी भावनाको प्रशंसा गरे। उनले नेपालका युवामा रहेको क्षमता र सम्भावनालाई आफ्नै देशमा उपयोग गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै स्टार्टअप समिट नेपाल–२०२६ लाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

राजदूत खानले नेपाली युवालाई स्वदेशमै भविष्य खोज्न प्रेरित गर्ने अभियानमा आफू र पाकिस्तानले समेत सहकार्य गर्न सक्ने बताए। उनले भने, “तपाईंहरू कार्यक्रमको तयारी गर्नुहोस्, अघि बढ्नुहोस्। नेपाली र पाकिस्तानी युवाबीच सहकार्य र अनुभव आदान–प्रदानका लागि म आवश्यक सहयोग गर्न तयार छु।”

उनले नेपालका युवाको अवस्था, देशको वर्तमान व्यावसायिक वातावरण तथा उद्यमशीलताको सम्भावनाबारे समेत जानकारी लिएका थिए। नेपाली युवाहरू अध्ययन तथा रोजगारीका लागि विदेश पुगे पनि ज्ञान, सीप र अनुभव लिएर स्वदेश फर्किएर विभिन्न क्षेत्रमा काम गरिरहेको विषयमा समेत उनले सकारात्मक धारणा राखे।

राजदूत खानले नेपालीहरू मेहनती, सरल र इमानदार रहेको उल्लेख गर्दै निरन्तर मेहनत र सकारात्मक सोचका साथ अघि बढ्न सके नेपालका सबै क्षेत्रमा उल्लेखनीय परिवर्तन सम्भव रहेको बताए। युवाले आफ्नो ज्ञान, सीप र सिर्जनशीलतालाई देश निर्माणमा प्रयोग गर्नुपर्नेमा उनको विशेष जोड थियो।

भेटमा स्टार्टअप समिट नेपाल–२०२६ की अध्यक्ष शोभा ज्ञवालीले समितिको उद्देश्य र आगामी योजनाबारे जानकारी गराउँदै नेपालका शिक्षित, दक्ष तथा मेहनती युवालाई स्वदेशमै अवसर खोज्न प्रेरित गर्ने अभियानमा आफूहरू केन्द्रित रहेको बताइन्। विभिन्न सामाजिक तथा व्यावसायिक संस्थामा काम गरेको आफ्नो अनुभव उल्लेख गर्दै उनले अब युवाको ज्ञान र सीपलाई नेपालमै उपयोग गर्ने वातावरण निर्माण गर्न आवश्यक रहेको बताइन्।

ज्ञवालीले “ज्ञान र सीप आफ्नै मुलुकमा प्रयोग गरौँ” भन्ने मूल भावनाका साथ स्टार्टअप समिट नेपाल–२०२६ अघि बढिरहेको बताइन्। उनले अभियान कुनै व्यक्तिगत स्वार्थका लागि नभई युवालाई अवसर, उद्यमशीलता र आत्मनिर्भरतासँग जोड्ने उद्देश्यले अघि बढाइएको स्पष्ट पार्दै नेपालमा काम गर्ने सबै क्षेत्र र संस्थालाई सहकार्यका लागि आह्वान गरिन्।

अध्यक्ष ज्ञवालीले नेपाल र पाकिस्तानबीच लामो समयदेखि कायम रहेको आत्मीय तथा मैत्रीपूर्ण सम्बन्धलाई नयाँ पुस्ताको सहकार्यसँग जोड्न सके दुई देशबीचको सम्बन्ध अझ अर्थपूर्ण बन्न सक्ने बताइन्। विशेषगरी युवा उद्यमशीलता, प्रविधि, शिक्षा, सीप तथा व्यवसायिक अनुभव आदान–प्रदानका क्षेत्रमा सहकार्यको ठूलो सम्भावना रहेको उनको भनाइ थियो।

भेटघाटका क्रममा राजदूत खानले स्टार्टअप समिट नेपाल–२०२६ को अभियानप्रति सकारात्मक धारणा व्यक्त गर्दै नेपाली युवालाई स्वदेशमै अवसर सिर्जना गर्न प्रेरित गर्ने प्रयास महत्वपूर्ण रहेको बताए। नेपाल र पाकिस्तानका युवाबीच सहकार्य तथा अनुभव आदान–प्रदानका लागि आवश्यक पहल गर्न आफू सकारात्मक रहेको उनले दोहोर्याए।

भेटमा पाकिस्तानी दूतावासका प्रतिनिधिसहित स्टार्टअप समिट नेपाल–२०२६ की अध्यक्ष शोभा ज्ञवाली, समितिका मुख्य वक्ता इन्जिनियर उमेश कुमार गुप्ता तथा निर्देशकद्वय बासुदेव न्यौपाने र नारायणप्रसाद ओलीको उपस्थिति रहेको थियो।