अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ घानीले एउटा विज्ञप्ति सार्वजनिक गर्दै तालिबान देशको राजधानी काबुल प्रवेश गर्दै गर्दा आफू देश छाडेर भाग्नुको कारणबारे व्याख्या गरेका छन् ।
दुई पटक राष्ट्रपति बनिसकेका घानीले अफगानिस्तानका जनतालाई छाडेर जाने आफ्नो नियत नभएको तर ६० लाख मानिस बसोबास गर्ने राजधानी काबुलमा हिंसा नहोस् भन्ने चाहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
विज्ञप्तिमा घानीले माफी पनि मागेका छन् तर अफगान राज्यकोबाट लाखौँ अमेरिकी डलर लिएर आफूले देश छाडेको आरोपको भने उनले कडा रूपमा खण्डन गरेका छन् । उनले तालिबान वा तालिबान सरकारबारे भने टिप्पणी गरेका छैनन् ।
अशरफ घानी दुई पटक अफगानिस्तानका राष्ट्रपति निर्वाचित भएका थिए । उनी पहिलो पटक सन् २०१४ मा र दोस्रो पटक २०१९ मा राष्ट्रपति बनेका हुन्। उनी देशका चर्चित शिक्षाविद् हुन् ।
उनले आफ्नो जीवनको अधिकतम समय देशबाहिर नै बिताएका थिए । अफगानिस्तानमा तालिबान सत्ता गएपछि र केही वर्षको युद्धपश्चात् घानी स्वदेश फर्केका थिए । राष्ट्रपति पद सम्हालेपछि उनलाई एकदमै इमानदार व्यक्तिका रूपमा चित्रित गरिएको थियो ।
उनी अफगानिस्तानका बहुसङ्ख्यक पाश्तुन समुदायका व्यक्ति हुन् । उनलाई तालिबानले सधैँ अमेरिकाको ‘कठपुतली’ का रूपमा चित्रित गर्ने गरेको छ।

प्रतिक्रिया