के छ कोरोनाभाइरस उत्पत्तिबारे अमेरिकी गुप्तचर निकायको प्रतिवेदनमा ?



अमेरिकी राष्ट्रपति जो बाइडनको आदेशानुसार तयार गरिएको कोरोनाभाइरसको उत्पत्तिसम्बन्धी एउटा गुप्तचर प्रतिवेदन निष्कर्षविहीन रहेको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

चीनमा पहिलो पटक देखिएको कोरोनाभाइरस जनावरबाट मानिसमा प्राकृतिक रूपमा सरेको हो वा प्रयोगशालामा भएको दुर्घटनाबाट फैलिएको हो भन्ने विषयमा अमेरिकी निकायहरू एकमत हुन नसकेको बताइएको छ । सो प्रतिवेदनको सारांश छिटै सार्वजनिक हुने बताइएको छ । चीनका विदेशमन्त्रीले सो प्रतिवेदनलाई विज्ञानविरोधी भनेका छन् ।

वाङ यीले राजनीतिक उद्देश्य मात्रै परिपूर्ति गर्ने प्रतिवेदनका लागि वाशिङ्टनले विश्व स्वास्थ्य सङ्गठनको अध्ययनलाई बेवास्ता गरेको बताएका हुन् ।

संसारभरि ४० लाख मानिसको ज्यान लिएको महामारी चीनको वुहानमा सन् २०२० मा सुरुतिर पहिलो पटक देखिएको थियो । संसारभरि कोभिड फैलिने क्रम रोक्ने प्रयास भइरहँदा वैज्ञानिकहरू कहाँबाट भाइरस उत्पन्न भयो भनेर पनि पत्ता लगाउने प्रयास गरिरहेका छन् ।

वुहान भ्रमण गरेको विश्व स्वास्थ्य सङ्गठनको टोलीले यो रोग बजारमा बेचिएको जनावरबाट मानिसमा सरेको हुनसक्ने निष्कर्ष निकालेको थियो । सो प्रतिवेदनले एक दशकदेखि चमेरोको कोरोनाभाइरस अध्ययन गरिरहेको वुहान इन्स्टिट्यूट अफ भाइरलजीबाट दुर्घटनामा बाहिर फैलिएको हुनसक्ने सम्भावनालाई नकारेको देखिएको छ ।

केही वैज्ञानिकले विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनलाई अस्वीकार गरेका छन् । गएको मे महिनामा बाइडनले अमेरिकी गुप्तचर निकायहरूलाई तथ्याङ्कहरू अध्ययन गरेर ९० दिनभित्र भाइरसको उत्पत्तिका विषयमा निष्कर्षमा पुग्न सकिने प्रतिवेदन पेस गर्न भनेका थिए ।

सन् २०१९ को नोभेम्बरमा वुहान प्रयोगशालाका केही कर्मचारी अस्पताल भर्ना गरिएको र चीनले अनुसन्धानमा नसघाएको विवरणका बीच बाइडनले अनुसन्धान गर्न भनेको बताइएको थियो ।

तर गत जुन महिनामा न्याशनल इन्टेलिजन्सकी प्रमुख एभ्रिल हेनासले निष्कर्ष ननिस्कने बताएकी थिइन् । कोरोनाभाइरसको उत्पत्तिका विषयमा निश्चित निष्कर्षमा पुग्न वर्षौँ लाग्न सक्ने वैज्ञानिकहरू बताउँछन्।

चीनले भने हालै कोरोनाभाइरस फोर्ट डेट्रिकस्थित अमेरिकी सैन्य केन्द्रबाट उत्पत्ति भएको हुनसक्ने बताउन थालेको छ । पहिले अमेरिकी जैविक हतियारको केन्द्र रहेको फोर्ट डेट्रिकमा अहिले इबोला र बिफरजस्ता भाइरसको अध्ययन गरिरहेका प्रयोगशालाहरू छन् ।

चीनका विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन्विनले बुधवार पुनः सो विषय उठाउँदै अमेरिकाले पहिले विश्व स्वास्थ्य सङ्गठनका विज्ञहरूलाई फोर्ट डेट्रिकका अध्ययनका लागि बोलाउनुपर्ने बताए । अमेरिकी प्रतिवेदन सोमवार राष्ट्रपति बाइडनलाई बुझाइएको थियो। ह्वाइट हाउस प्रवक्ताले सो प्रतिवेदनको सारांश सार्वजनिक गर्न केही दिन लाग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर

  विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको सम्बोधन गर्ने उद्देश्यले

युद्धका बेला देश एकताबद्ध हुनुपर्छः नेतान्याहु

  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले  मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय गुप्तचर एजेन्सी) भ्रमण गर्ने

थाईल्याण्डसँगको सीमा सहरमा म्यान्माका सेना र जातीय समूहबीच भिडन्त

  एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच थाइल्यान्डको सीमा नजिकैको

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

  अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका छन् । भ्रमणका