चीनमा आलोचक अर्बपतिलाई १८ वर्ष जेलसजाय



चीनले प्रमुख उद्योगपतिहरूलाई दण्डित गर्ने पछिल्लो कदमअन्तर्गत हक्की स्वभावका एक प्रसिद्ध अर्बपतिलाई १८ वर्षका लागि जेलसजाय गरेको छ ।

सन दावूले उत्तरी हेबेई प्रान्तमा रहेको देशका सबैभन्दा ठूलामध्ये एक निजी कृषि व्यवसाय सञ्चालन गर्दै आएका छन् । ६७ वर्षीय सनले विगतमा मानव अधिकार तथा राजनीतिक रूपमा संवेदनशील विषयहरूका बारेमा बोलेका थिए ।

झैझगडा शुरू गरेको र समस्या निम्त्याएको आरोपमा उनलाई दोषी पाइएको छ। त्यो आरोप प्रायः अधिकारकर्मीहरूमाथि लगाउने गरिएको छ । उनीमाथि लगाइएका अन्य आरोपमा गैरकानूनी रूपमा खेत कब्जा गरेको, राज्यका निकायहरूमाथि आक्रमणका लागि भिड जम्मा पारेको र सरकारी मजदुरहरूको काममा अवरोध पुर्याएको लगायत छन् ।

उनलाई ३१ लाख १० हजार युआन जरिवाना पनि तिर्न लगाइएको छ । अर्बपति सनको कम्पनी चीनका ठूला कम्पनीमा पर्छ जुन कम्पनीले मासु प्रशोधनदेखि घरपालुवा जनावरका खाना उत्पादन र विद्यालय तथा अस्पताल क्षेत्रसम्ममा काम गर्छ । सरकारी स्वामित्वको एउटा फार्मसँग जग्गासम्बन्धी विवादलाई लिएर गत वर्ष नै २० जना आफन्त तथा व्यापार सहयोगीसहित सनलाई गिरफ्तार गरिएको बताइएको छ ।

समाचार संस्था एएफपीका अनुसार त्यति बेला उनले प्रहरीबाट आफ्ना दर्जनौँ कामदार घाइते भएको बताएका थिए । चीनका केही प्रमुख राजनीतिक आलोचकहरूसँग सन नजिक रहेको र विगतमा उनले सरकारका ग्रामीण नीतिहरूको आलोचना पनि गरेका थिए ।

अफ्रिकन स्वाइन फ्लु फैलिएको घटनालाई ढाकछोप गरेकोमा चिनियाँ सरकारको आलोचना गर्ने थोरै व्यक्तिमा सन पनि पर्छन् । सन् २०१९ मा चीनमा फैलिएको अफ्रिकन स्वाइन फ्लुबाट अर्बपति सनका पनि व्यवसाय प्रभावित भएको थियो र पछि त्यस देशको अधिकांश कृषि क्षेत्रमा व्यापक असर पुर्याएको थियो ।

गैरकानूनी रूपमा पैसा सङ्कलन गरेको आरोपमा सन् २००३ मा पनि उनलाई जेलसजाय सुनाइएको थियो । तर अधिकारकर्मी तथा नागरिकहरूले उनीप्रति जनाएको व्यापक समर्थनपछि त्यो मुद्दा उल्टाइएको थियो।

मुद्दाको पूर्वसुनुवाइका क्रममा उनले आफूविरुद्ध लगाइएका धेरै आरोपहरू अस्वीकार गरेको र आफूलाई कम्युनिस्ट पार्टीका एक राम्रा सदस्यका रूपमा चिनाएको बताइन्छ ।

चिनियाँ सरकारले देशका व्यापारी तथा उद्योगपतिमाथि कारबाही गर्दै आएको छ । नियमनसम्बन्धी विवादलाई लिएर अहिले अलीबाबा, डीडी र टेन्सेन्टसहित ठूला प्रविधि कम्पनीहरूमाथि अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनमा शिक्षालाई बढावा दिन एआई अभियान सुरु

चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान सुरु गरेको छ । यो

बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका

ज्याकोब जुमाले चुनाव लड्न नपाउने

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार

बेलायतमा पाँचमध्ये एक शिक्षक विद्यार्थीको दुव्र्यवहार सामना गर्न बाध्य

बेलायतका लगभग पाँच मध्ये एक शिक्षकले आफू विद्यार्थीबाट दुर्ब्यवहारको सिकार भएको बताएका छन्