चिनियाँ खोपलाई डब्ल्यूएचओको अनुमति



विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले चिनियाँ सरकारी स्वामित्वको कम्पनी सिनोफार्मले विकास गरेको कोभिड खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ । डब्ल्यूएचओले स्वीकृति दिएको यो पहिलो युरोप बाहिर बनेको कोभिड खोप हो । चिनियाँ सरकारले आठ लाख मात्रा सहयोग उपलब्ध गराएको सिनोफार्मको भेरो सेल खोप नेपालमा पनि दिइएको छ ।

नेपाल र चीन सहित यो खोप अन्य देशमा अहिलेसम्म लाखौँ व्यक्तिहरूलाई दिइसकिएको छ । यसअघि डब्ल्यूएचओले फाइजर, आस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन र मोडेर्नाले बनाएको खोपलाई अनुमति दिइसकेको छ ।

अफ्रिका, दक्षिण अमेरिका र एशियाका विभिन्न देशका स्वास्थ्य निकायहरूले यो खोपलाई स्वीकृति दिइसकेका छन् । चिनियाँ कम्पनीले थोरै मात्र तथ्याङ्क सार्वजनिक गरेको कारण यो खोपको प्रभावकारिताका विषयमा प्रश्नहरू उठेका थिए । तर शुक्रवार डब्ल्यूएचओले सो खोपको सुरक्षा, प्रभावकारिता र गुणवत्तालाई पुष्टि गरेको छ ।

डब्ल्यूएचओले नयाँ खोपले आफ्ना स्वास्थ्यकर्मी र जनसङ्ख्यालाई जोखिमबाट बचाउने प्रयास गरिरहेका देशहरूका लागि कोभिड खोपसम्मको पहुँच बढाउने बताएको छ । त्यो खोप १८ वर्षभन्दा माथिका व्यक्तिहरूलाई दुई मात्रा दिन सिफारिस गरिएको छ ।

डब्ल्यूएचओले अर्को चिनियाँ खोप सिनोभ्याक र रुसको स्पुत्निक भीको बारेमा पनि अध्ययन गरिरहेको छ र ती खोपका विषयमा चाँडै नै निर्णय आउने बताइएको छ ।

डब्ल्यूएचओले अनुमति दिएपछि राष्ट्रिय स्वास्थ्य निकायहरूले यो खोपलाई स्वीकृति दिन सहज हुन्छ । यसको अर्थ यो खोप कोभ्याक्स कार्यक्रम अन्तर्गत विश्वभर वितरण पनि हुन सक्छ। कोभ्याक्स धनी र गरिब राष्ट्रहरूको खोपमा पहुँच न्यायिक होस् भन्ने उद्देश्यले स्थापना गरिएको हो ।

कोभ्याक्स कार्यक्रममा खोपको आपूर्ति कम भएर समस्या परिरहेको अवस्थामा चिनियाँ खोपले सो कार्यक्रमलाई निरन्तरता र बिस्तार गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ । डब्ल्यूएचओले स्वीकृति दिनअघि नै यो खोप लगभग छ करोड ५० लाख मानिसलाई दिइएको छ । यूएई, पाकिस्तान र हङ्गेरीमा पनि यो खोप दिइएको छ ।

डब्ल्यूएचओको प्राविधिक परामर्श समूहले तथ्याङ्क अध्ययन गरेर स्वीकृतिका लागि सिफारिस गर्दा यसको प्रभावकारिता ७९ प्रतिशत रहेको बताएको थियो ।

तर डब्ल्यूएचओले ६० वर्षमाथिका व्यक्तिका कमै तथ्याङ्क उपलब्ध भएका कारण त्यो उमेर समूहमा यसको प्रभावकारिता यकिन नभएको बताएको छ। उसले यसले त्यो उमेर समूहमा काम नगर्ने भन्ने कुनै कारण भने नरहेको समेत बताएको छ । चिनियाँ खोपहरू पनि आस्ट्राजेनेका जस्तै साधारण चिसो तापक्रममा भण्डारण गर्न सकिन्छ जसलाई यसको फाइदा मानिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्लास्टिक प्रदूषण अन्त्य गर्न क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने

  क्यानाडाले प्लास्टिक प्रदूषण अन्त्य गर्ने विश्वव्यापी समाधानका लागि अर्को हप्ता संयुक्त राष्ट्रसङ्घको

विश्व बैंकद्वारा पाकिस्तानलाई कर प्रणालीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउन आग्रह

    विश्व बैंकले पाकिस्तानी सरकारलाई कर प्रणालीमा सुधार गरी शुल्क र बिक्री

इजरायलद्वारा इरानमा आक्रमण

बीबीसी । इजरायलले इरानमा क्षेप्यास्त्र प्रहार गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमहरूले मध्यइरानको

अमेरिका र बेलायतद्वारा इरानको ड्रोन आक्रमणपछि व्यापक प्रतिबन्धको घोषणा

संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यले इजराइलविरुद्ध सप्ताहन्त आक्रमणको जवाफमा इरानको सैन्य ड्रोनविरुद्ध