अमेरिकी सैनिकले सेप्टेम्बर ११ अघि अफगानिस्तान छाड्ने
अमेरिकी अधिकारीहरूले त्यहाँका सञ्चारमाध्यमलाई राष्ट्रपति जो बाइडनले आगामी सेप्टेम्बर ११ तारिखअघि सबै अमेरिकी सैनिकहरूले अफगानिस्तान छाड्ने घोषणा गर्न गइरहेको बताएका छन् । गत वर्ष तालिबान र ट्रम्प प्रशासनबीच भएको सम्झौताअनुसार अमेरिकी सैनिकहरूले आगामी मे महिनासम्ममा अफगानिस्तान छाड्नुपर्ने थियो ।
आगामी सेप्टेम्बर ११ तारिखमा अमेरिकास्थित वर्ल्ड ट्रेड सेन्टर र पेन्टागनमा हमला भएको २० वर्ष पुग्दैछ । राष्ट्रपति बाइडनले पहिले मे १ तारिखको समयसीमामा सैनिकहरू फिर्ता गर्ने कार्य सक्न कठिन हुने बताएका थिए । अमेरिकी र नेटो अधिकारीहरूले तालिबानले सम्झौताअनुसार हिंसा कम गर्न गरेको बाचा अहिलेसम्म पूरा नगरेको बताएका छन् ।
सञ्चारमाध्यमसँग कुरा गर्दै एकजना वरिष्ठ अधिकारीले यदि सैन्य फिर्तीका क्रममा तालिबानले अमेरिकी सैनिकमाथि हमला गरेमा त्यसको कडा प्रतिउत्तर दिने चेतावनी दिए । ती अधिकारीका अनुसार बाइडनले हतारमा अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्नु खतरनाक पनि हुनसक्ने ठानेका छन् । अफगानिस्तानबाट सेना फिर्ता गर्नेबारे राष्ट्रपति बाइडनले बुधवार स्वयम् घोषणा गर्नेछन् ।
अमेरिकी नेतृत्वमा यसै महिनाको अन्त्यमा टर्कीमा हुन लागेको शान्ति सम्मेलनमा अफगान सरकार र तालिबान सहभागी हुने खबर आएको केही घण्टामै अमेरिकाले सैन्य फिर्तीको घोषणा गरेको हो ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन र रक्षामन्त्री लोयड अस्टिनले बुधवार बेल्जियमको राजधानी ब्रसल्समा उक्त निर्णयबारे नेटो सदस्य राष्ट्रहरूलाई जानकारी दिनेछन् । अफगानिस्तानमा २० वर्षदेखि जारी युद्धमा दुई हजारभन्दा बढी अमेरिकी सैनिकहरू मारिइसकेका छन् । अमेरिकाको यो सबैभन्दा लामो लडाइँमा कैयौँ खर्ब डलर रकम खर्च गरिसकेको छ ।
गत वर्ष तालिबान र अमेरिकाबीच एउटा सम्झौता भएको थियो । त्यस अनुसार तालिबानले हिंसा रोकेको चौध महिनाभित्र अमेरिकाले आफ्ना सबै सेनाहरू फिर्ता बोलाउनुपर्ने थियो । तालिबान र अफगानिस्तानको सरकारबीच वार्ता चलिहरेको छ । तर अहिलेसम्म कुनै सम्झौता हुन सकेको छैन । तालिबानले सरकारसँग आफ्ना हज्जारौँ लडाकुको रिहाईको माग राखेको छ ।
तालिबानले विदेशी सुरक्षा फौजमाथिको हमला रोके पनि अफगानी सुरक्षाकर्मीमाथि हमला जारी राखेको छ । गत महिना तालिबानले मे १ तारिखपछि विदेशी सैनिकमाथि पनि हमला सुरु गर्ने चेतावनी दिएको थियो । दीर्घकालीन सम्झौता नभइकन विदेशी सैनिक फिर्ता जाँदा अफगानिस्तानमा तालिबानले फेरि सत्ता कब्जा गर्नसक्ने आशङ्काहरू व्यक्त भइरहेका छन् । हाल अफगानिस्तानमा नेटकोका करिब ९,६०० सैनिकहरू रहेका छन् त्यसमा २,५०० अमेरिकी सैनिक छन्।