मे १ भित्र सबै अमेरिकीलाई खोप लगाइने
अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो कार्यकालको पहिलो टेलिभिजन सम्बोधन गर्दै मे महिनाभित्र सबै वयस्क अमेरिकीहरूलाई खोप दिलाउन पुग्ने गरि आपूर्ति व्यवस्था मिलाइएको बताएका छन् ।
उनले मे १ भित्र सबै वयस्क अमेरिकीहरूलाई खोप दिलाउन योग्य बनाउन राज्य तथा स्थानीय निकायहरूलाई आदेश दिने बताएका छन् । सबैलाई पालो आएपछि खोप लगाउन पनि उनले आह्वान गरे । एक वर्षको सामूहिक क्षति र बलिदानपश्चात् अब देशका सामु राम्रा दिनहरू आएको उनले बताए । जुलाई ४ को अमेरिकी स्वतन्त्रा दिवसको समयताका स–साना भेला गर्न सकिने सम्भावना बढेको पनि उनले बताए ।
कोरोनाभाइरसले अमेरिकामा पाँच लाखभन्दा धेरैको ज्यान लिइसकेको छ । पहिलो र दोस्रो विश्वयुद्ध अनि भियतनाम युद्ध र सेप्टेम्बर ११ को हमलामा मारिएका कूल अमेरिकीको सङ्ख्याभन्दा यो धेरै हो । यसअघि राष्ट्रपति बाइडनले १९ खर्ब डलरको कोभिड राहत प्याकेजमार्फत् अमेरिकाको मेरुदण्ड पुनर्निर्माण हुने तर्फ पहिलो पाइला चालिएको बताएका थिए ।
उक्त प्याकेजबारेको कानुनमा हस्ताक्षर गरेपछि उनले उक्त टिप्पणी गरेका हुन् । कोभिड राहत प्याकेजमार्फत् १४ सय डलरको प्रत्यक्ष नगद सहयोग यसै सप्ताहान्तदेखि नै बाँड्न थालिने बताइएको छ ।
वर्षमा ७५ हजार डलरसम्म आम्दानी गर्ने प्रत्येक व्यक्तिले १४ सय डलर पाउनेछन् । कर अधिकारीहरूले मानिसहरूको कर विवरण हेरेर व्यक्तिहरूलाई गरिने भुक्तानी निर्क्योल गर्नेछन् ।
डोनल्ड ट्रम्पको पालामा दिइएको नगद सहयोगको बेला चेकमा ट्रम्पको हस्ताक्षर समेत रहेको थियो । तर बाइडनले ती चेकमा आफ्नो हस्ताक्षर नराख्ने बताइएको छ । यही प्याकेजमार्फत् राज्य तथा स्थानीय सरकारहरूले ३५० अर्ब डलर पाउनेछन् ।
त्यस्तै विद्यालयहरू खुलाउन १३० अर्ब डलर अनि कोभिड १९ को परीक्षण र अनुसन्धानमा ४९ अर्ब डलर उपलब्ध गराइनेछ। त्यसबाट कोभिड खोप कार्यक्रमलाई १४ अर्ब डलर उपलब्ध हुनेछ । अमेरिकाको इतिहासमै सबभन्दा धेरै खर्च गर्ने प्रस्तावित भएको मध्येको सो कानुन पारित गर्दा एकजना पनि विपक्षी रिपब्लिकन सांसदले समर्थन गरेका थिएनन् ।
माथिल्लो सदन सिनेट तथा तल्लो सदन प्रतिनिधिसभामा उक्त प्याकेज बहुमतद्वारा पारित भएको थियो । सो प्याकेज आम अमेरिकीहरूमाझ भने समर्थन रहेको देखिएको छ। मार्चमा प्यू रिसर्च सेन्टरले गरेको मत सर्वेक्षणमा ७० प्रतिशत वयस्क अमेरिकीहरूले यसको समर्थन गरे जसमा ४१ प्रतिशत रिपब्लिकन पनि थिए ।