म्यान्मारको सेना सडकमा, इन्टरनेट सेवा अवरुद्ध
म्यान्मारमा फेब्रुअरी १ मा सेनाले गरेको कू को विरोध गरिरहेकाहरू लक्षित कारबाही सुरु गरिन सक्ने सङ्केतहरू देखा परेका बेला उत्तरी क्षेत्रमा भएको प्रदर्शनका क्रममा स्वचालित हतियारबाट गोली चलेको सुनिएको छ ।
सबैभन्दा ठूलो सहर याङ्गुनमा सैन्य अधिकारीहरू सडकमा उत्रिएका छन् । म्यान्मारस्थित पश्चिमा राष्ट्रहरूका दूतावासहरूले भने हिंसाको प्रयोग नगर्न आग्रह गरेका छन् । स्थानीय समय अनुसार दिनको १ बजेदेखि त्यहाँ इन्टरनेट सेवा पूर्ण रूपमा बन्द गरिएको छ । राष्ट्र सङ्घका एकजना अधिकारीले सेनाले जनताविरुद्ध युद्धको घोषणा गरेको आरोप लगाएका छन् ।
म्यान्मारका लागि संयुक्त राष्ट्र सङ्घका विशेष प्रतिवेदक टम एन्ड्रीउजले सैन्य जनरलहरूले हतोत्साहको सङ्केत देखाइरहेको र उनीहरूलाई जवाफदेही बनाइने बताएका छन् । युरोपेली संघ (इयू), अमेरिका र वेलायतले हस्ताक्षर गरेको एउटा वक्तव्यमा भनिएको छ, ‘हामी सुरक्षा निकायहरूलाई वैध सरकार हटाइए विरुद्ध भइरहेको प्रदर्शनमा सहभागी भएकाहरू माथि हिंसा नगर्न आग्रह गर्छौँ।’ म्यान्मारमा भएको सैन्य कू ले नेतृ आङ सान सू चीले नेतृत्व गरेको सरकार अपदस्थ गरिदिएको थियो ।
नेत्री सूचीको नेशनल लीग फर डेमोक्रेसी (एनएलडी) ले ठूलो बहुमतका साथ जित हासिल गरेको थियो । तर सेनाले भने चुनावमा धाँधली भएको बताउँदै आएको छ । सूची हाल आफ्नै निवासमा नजरबन्दमा छिन् । सयौँ अधिकारवादी र नेताहरूलाई पक्राउ गरिएको छ ।
म्यान्मारमा सेनाविरुद्ध देशव्यापी रूपमा लगातार नवौँ दिन हजारौँ प्रदर्शनकारीहरूले विरोध कार्यक्रम गरेका छन् । कचीन राज्यमा भएको प्रदर्शनमा सुरक्षा अधिकारी र प्रदर्शनकारीहरूबीच भएको झडपका क्रममा स्वचालित हतियार चलाइएको सुन्न सकिन्थ्यो ।
त्यसक्रममा रबरको गोली चलाइएको हो वा गोली नै चलाइएको हो भन्ने कुरा भने प्रस्ट हुन सकेको छैन । सैन्य कू पछि पहिलो पटक याङ्गुनमा हतियार चलाउन सकिने गाडीहरू सडकमा देखिएका थिए । दूरसञ्चार सेवा प्रदायकहरूका अनुसार उनीहरूलाई स्थानीय समय अनुसार आइतबार १ बजे देखि सोमवार ९ बजेसम्म इन्टरनेट सेवा बन्द गर्न निर्देशन दिइएको छ ।
नेपिद्अस्थित एक चिकित्सकका अनुसार सुरक्षा अधिकारीहरूले रातको समयमा घरहरूमा छापा मारिरहेका छन्।