भारतको उत्तराखण्डमा हिमनदीमा बाढी आएर बाँध भत्किँदा दर्जनौ बेपत्ता
उत्तर भारतमा एउटा हिमनदीमा बाढी आएर बाँध भत्किँदा दर्जनौँ बेपत्ता भएका छन् । बाढीले बगाएर बेपत्ता भएका मध्ये अहिलेसम्म नौजनाको शव भेटिएका बताइएको छ ।
उत्तराखण्डस्थित बाँध भत्किएपछि तल्लो तटीय क्षेत्रमा ठूलो बाढी पसेको बताइएको छ । कैयन् गाउँहरूबाट मानिसहरूलाई अन्यत्र पठाइएको छ । अधिकारीहरूले करिब डेढ सय मानिसहरू हराइरहेको हुनसक्ने बताएका छन् । चमोली जिलाको धौलीगङ्गा नदीमा तेज गतिमा पानीको प्रवाह भएको देखिएको छ जसले बाँध भत्काइदिएको छ ।
हराइरहेकामध्ये अधिकांश त्यहाँ जलविद्युत आयोजना निर्माणमा संलग्न मजदुरहरू रहेको बताइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले अवस्थाको अनुगमन गरिरहेको बताएका छन् । उनले सबैको कुशलताका निम्ति देशले प्रार्थना गरिरहेको बताएका छन् । भारतीय वायुसेनालाई उद्धारकार्यका निम्ति तयार राखिएको सरकारले जनाएको छ ।