रुसी व्यापारी आर्काडी रुटन्बियर्गले कृष्णसागरको तटमा रहेको एउटा विलासी दरबारको मालिक राष्ट्रपति भ्लादिमिर पुटिन नभई आफू भएको बताएका छन् । राष्ट्रपति पुटिनका आलोचकले भने उक्त विशाल दरबार पुटिनकै भएको आरोप लगाएका छन् ।
क्रेम्लिनका कट्टर आलोचक एलेक्सी नभाल्नीले उक्त दरबारबारे बनाइएको भिडियो सार्वजनिक गरेपछि त्यो छोटो समयमै रुसभरि भाइरल बनेको थियो । ’पुटिनको दरबार’ नाम दिइएको उक्त भिडियो अहिलेसम्म १९ करोडभन्दा बढी पटक हेरिसकिएको छ । गत साताको सुरुमा राष्ट्रपतिले उक्त भिडियोमा गरिएको दाबीको आलोचना गरेका थिए ।
राष्ट्रपति पुटिनसँग निकट सम्बन्ध रहेका अर्बपति रुटन्बियर्गले गत साता त्यो सम्पत्ति आफ्नो भएको भनी सार्वजनिक दाबी गरेका थिए । क्रेम्लिन समर्थक म्यास टेलिग्राम च्यानलबाट प्रसारण गरिएको अन्तर्वार्तामार्फत् उनले उक्त खुलासा गरेका थिए । रुटन्बियर्गले उक्त दरबारको निर्माण कार्य केही वर्षमा सकिने र त्यसपछि अपार्टमेन्टसहितको होटल बन्ने ठानिएको बताएका छन् ।
रुसभरि मुख्य विपक्षी नेतालाई थुनामा राखिएको विरोधमा आन्दोलन चर्किएको बेला रुटन्बियर्गले विवादित सम्पत्ति आफ्नो भएको दाबी गरेका हुन् । जेलमा रहेका क्रेम्लिनका विपक्षी नेता एलेक्सी नभाल्नीको टोलीले जनवरी महिनाको सुरुमा दरबारबारे बनेको वृत्तचित्र प्रकाशित गरेपछि उक्त सम्पत्तिबारे विवाद चर्चाको विषय बन्दै आएको छ ।
उक्त टोलीको खोजमूलक भिडियोमा दरबार बनेको सम्पत्ति एक अर्ब पाउन्ड बराबरको रहेको र त्यसका लागि इतिहासको सबैभन्दा ठूलो घुस दिइएको आरोप लगाइएको छ । रुसमा रुटन्बियर्ग एक महत्वपूर्ण व्यक्ति हुन् । उनी ठूलो निर्माण कम्पनीका मालिक हुन् जसले पुल र ग्यासका पाइपलाइनजस्ता भौतिक पूर्वाधारको निर्माण गर्छ । राष्ट्रपति पुटिनका बाल्यकालका साथी र जुडो सँगै खेल्ने भएकाले उनीहरूबीच निकट सम्बन्ध भएको बताइन्छ ।

प्रतिक्रिया