इटलीमा दशकौँयता विशाल माफियाविरुद्ध सुनुवाइ हुँदै
इटलीको सबैभन्दा शक्तिशाली माफिया समूह भनेर आरोप लागेको समूहका सदस्यहरूविरुद्ध इटलीमा सुनुवाइ गर्न लागिएको छ । दशकौँयता त्यस्तो सुनुवाइ हुन सकेको थिएन । ड्रङ्गेटा समूहमाथि गरिएको लामो अनुसन्धानपछि ३३५ सन्दिग्ध लुटेराहरू र भ्रष्ट अधिकारीमाथि अभियोग दायर गरिएको छ ।
नौ सयभन्दा बढी साक्षीले सो सुनुवाइका क्रममा हत्या, लागुऔषध ओसारपसार, कालो धन र जबरजस्ती असुलीबारे प्रमाण दिने अपेक्षा गरिएको छ । सुनुवाइ बुधवार शुरू हुनेछ र दुई वर्षसम्म चलिरहने अपेक्षा गरिएको छ । सुनुवाइ दक्षिणी कलब्रिया क्षेत्रमा पुनर्निर्माण गरिएको एक भवनमा हुनेछ। यो ड्रङ्गेटा समूहको चलखेल हुने मुख्य भूभागका रूपमा चिनिन्छ ।
सन् १९८० यता इटलीमा यति ठूलो स्तरमा माफियाको सुनुवाइ भएको छैन । लामेजिया टेर्मे सहरमा रहेको कल सेन्टर भवनलाई पुनर्निर्माण गरेर सुनुवाइ गर्ने नयाँ स्थान बनाइएको हो । सयौँ मानिस सहभागी हुन सक्ने गरी भवनको स्वरूप परिमार्जन गरिएको हो । यस अघि सन् १९८६–१९९२ सम्म भएको सुनुवाइभन्दा फरक बुधवार हुने ड्रङ्गेटा माफिया समूहभित्र मनकुसो परिवार भनेर चिनिने समूहविरुद्ध लक्षित रहेको बताइएको छ । सन् १९८६–१९९२ मा मुख्यतः सिसिलीका कोसा नोस्ट्रा परिवारविरुद्ध लक्षित थियो ।
ड्रङ्गेटा कोसा नोस्ट्राभन्दा ठूलो समूह रहेको मानिन्छ। उनीहरू भिबो भ्यालेन्सियाको कलब्रिया प्रान्तमा सक्रिय छन् । एएफपी समाचार एजेन्सीका अनुसार हालै भएको एक सुनुवाइमा अभियुक्तहरूको नाम पढ्न मात्रै तीन घण्टा लागेको थियो ।
अभियुक्तहरूमा राजनीतिकर्मी, प्रहरी अधिकारी, सरकारी कर्मचारी र डकैती समूहका आरोपित सदस्यहरू छन् । सबभन्दा ठूला मानिएका अभियुक्त ६६ वर्षीय लुइगी म्यानकुसो हुन् । ६६ वर्षीय उनी ’अङ्कल’ भनेर चिनिन्छन् । उदाहरणका लागि केही अभियुक्तहरू ’द वूल्फ’ अर्थात् ब्वाँसो, ’फ्याटी’ अर्थात् मोटे र ब्लोन्डी जस्ता नामले चिनिन्छन् ।
आरोपितहरू ४०० भन्दा बढी छन्। ९२ ले सुनुवाइको छिटो बाटो ’फास्ट ट्रयाक’ चुनेका छन् । अभियुक्तमध्ये अधिवक्ता तथा पूर्वप्रधानमन्त्री सिल्भिओ बेर्लस्कोनीको फोर्जा इटालिया पार्टीका सांसद जियानकार्लो पिटेली लगायत छन् । पीटेली ड्रङ्गेटा समूहलाई राजनीति र अदालतजस्ता शक्तिशाली संस्थासँग जोडेको भन्ने आरोप अस्वीकार गर्छन् ।
धेरैजसो अभियुक्तहरू डिसेम्बर महिनामा इटली, जर्मनी, स्वीट्जरल्यान्ड र बुल्गेरियामा गएका खानतलासीमा गिरफ्तार गरेर नियन्त्रणमा लिइएका हुन्। ड्रङ्गेटाहरूले दक्षिण अमेरिका र अन्यत्रबाट आउने कोकिनको ठूलो मात्रा नियन्त्रण गर्ने गरेको विश्वास गरिन्छ । सयौँ अभियुक्तलाई लागेको आरोप लागुऔषध अपराधभन्दा फरक किसिमका पनि छन् । माफिया सञ्चालन, हत्या, हत्या प्रयत्न, असुली, अस्वाभाविक ब्याजदरमा ऋण दिएको, सरकारी सूचना चुहाएको र पदको दुरुपयोग गरेको लगायतका आरोप छन्